
धादिङको नीलकण्ठ नगरपालिका–११ मा रहेको ज्यामरुङ दरबारमा रहेको घोडा बाँध्ने तबेला आगलागीबाट जलेर नष्ट भएको छ। विद्युत् सर्ट भई लागेको आगोले दरबारको बाँकी रहेको घोडा बाँध्ने तबेला पनि जलेर नष्ट भएको हो।
ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार २०५९ असोजमा जनयुद्धका क्रममा तत्कालीन माओवादीले आगजनी गरी जलाएका थिए। आगजनीमा दरबारभित्र रहेका गरगहना, ऐतिहासिक हातहतियार, पुराना मुद्रा, पूजाका सामग्रीलगायतका सामानहरू सबै जलेर नष्ट भएका थिए।
दरबारको भौतिक संरचनाको नाममा घोडा बाँध्ने तबेला मात्र बाँकी थियो। तर, त्यो पनि विद्युत् सर्ट भई लागेको आगोले नष्ट भएको छ। करिब ६ सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार अहिले भग्नावशेषमा मात्रै सीमित बनेको छ। शाह वंशीय राजाहरूका पूजापाठ र सैन्य तालिमका गतिविधिको केन्द्रबिन्दको रूपमा लिइने यो दरबार पूर्ण रूपमा नष्ट भएको हो।
घोडा बाँध्ने तबेलामा विद्युत् सर्ट भएर आगलागी भएको नीलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले बताए। ‘आगलागी भएको देखेपछि स्थानीय र सुरक्षाकर्मीहरूको सहयोगमा आगो निभाउने प्रयास गरिएको थियो। तर, तबेलाको सम्पूर्ण भाग जलेर नष्ट भएको छ। पुराना केही काठ भए पनि अन्य सामान भने तबेलाभित्र थिएन। तर, अब दरबारको भौतिक संरचना केही रहेन,’ उनले भने।
ज्यामरुङ दरबार झन्डै ६०० वर्ष पुरानो रहेको स्थानीयको दाबी छ। यो दरबार विसं १५०० तिर निर्माण गरिएको अनुमान छ। त्यस वेला यो क्षेत्र चौबिसे राज्यहरूमध्ये ज्यामरुङ राज्यअन्तर्गत पर्थ्यो। पछि राजा द्रव्य शाहले गोरखा राज्य स्थापना गर्नुअघि यही ज्यामरुङमा केही समय बिताएका मानिन्छ। त्यसैले, यो दरबार गोरखाको ऐतिहासिक उत्पत्तिसँग समेत सम्बन्धित रहेको बताइँदै आएको छ।
ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार पुनर्निर्माणमा कसैले चासो दिएको छैन। जलेर खरानी बनेको दरबार पुरानै बनोट र संरचनामा निर्माण गरिनुपर्ने स्थानीयहरूले माग गर्दै आएका छन्। भौतिक संरचनाको नाममा रहेको घोडा बाँध्ने तबेला पनि जलेर नष्ट भएपछि दरबारको नाम निशाना मेटिने स्थानीयको चिन्ता छ।