
उपसभामुख इन्दिरा रानाले महिला आन्दोलनकी प्रथम आन्दोलनकारी योगमायाको योगदान नेपालमा मात्र नभई विश्वमै अतुलनीय रहेको बताएकी छिन्।
राष्ट्रिय महिला आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको योगमाया स्मृति दिवस कार्यक्रममा उपसभामुख रानाले निरंकुश राणा शासनकालमा योगमायाले गरेको साहसपूर्ण योगदान सबैका लागि प्रेरणाको स्रोत रहेको विचार व्यक्त गरेकी हुन्।
उनको योगदानलाई महिला आन्दोलनको क्षेत्रमा लाग्नेले भुल्न नसक्ने भनाई उपसभामुख रानाको थियो। उनले भनिन्, ‘योगमायाको व्यक्तित्व र कृतित्वबाट आजका पुस्ताले प्रेरणा लिई महिला हक अधिकारको क्षेत्रमा अझ बढी समर्पित भएर काम गर्न आवश्यक छ।’
नारीहरूको इज्जत र हक अधिकार संरक्षणको कार्य राज्यको प्राथमिक दायित्व भएको चर्चा गर्दै उपसभामुख रानाले मुलुकमा लैङ्गिक हिंसाका घटना हुन नदिन महिलाको चेतना अभिवृद्धिदेखि महिलालाई राजनीतिक, आर्थिक र सामाजिक रूपमा समेत सशक्तीकरण गर्दै अघि बढ्न आवश्यक रहेकोमा जोड दिइन्।
उपसभामुख रानाले एक शताब्दी अगाडिको राणाकालीन शासनको अन्धकारको युगमा महिला समानता¸ स्वतन्त्रता र जागरणको शंखनाद गर्ने योगमायालाई साहसिक र परिवर्तनकामी महिलाको रुपमा चित्रित गरिन्।