
यहाँ एक वर्षको अवधिमा दुई लाख २२ हजारभन्दा बढी पशुमा पूर्ण खोप लगाइएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार यस आर्थिक वर्ष ०८१/८२ मा जिल्लाका आठ पालिकामा दुई लाख २२ हजार ८६९ पशुलाई पूर्ण खोप लगाएको हो ।
केन्द्रका निमित्त प्रमुख डा. सुनील न्यौपानेका अनुसार विभिन्न रोगको नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर गाई, भैँसी, बाख्रा, बंगुर र कुकुरलाई खोप लगाइएको थियो । केन्द्रका अनुसार भैँसी ४८ हजार २७०, गाईवस्तु २६ हजार २५५, बाख्रा एक लाख २४ हजार २२५, भेडा १८ हजार ६२०, कुकुर चार हजार ५२२ र बंगुर ९७७ मा खोप लगाइएको थियो।
जिल्लाका ७५ वडाका १६ हजार ५४१ किसानको यत्तिका संख्यामा खोप लगाइएको केन्द्रका निमित्त प्रमुख डा. न्यौपानेको भनाइ छ । केन्द्रका अनुसार सबै बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दुधपोखरी गाउँपालिकाका किसानका पशुचौपायामा पूर्ण खोप लगाइएको छ ।
पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता परिचालन गरिएको थियो । जिल्लामा सबैभन्दा बढी गाईको संख्यामा वृद्धि हुँदै गएको उक्त केन्द्रले जनाएको छ । पाँचवटा खोपले ६ वटा मुख्य संक्रमण रोग नियन्त्रण गर्ने र सो खोपले एक वर्षसम्ममात्र काम गर्ने र प्रत्येक वर्ष खोप लगाउने अभियान जारी रहने बताइएको छ ।