
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेंगु रोगको संक्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ ।
साउनदेखि कात्तिकसम्म डेंगु संक्रमणको जोखिम उच्च रहने भएकाले त्यसपूर्व नै संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु गरिसकेका छन् ।
गत वर्ष डेंगु संक्रमणको ‘हटस्पट’ बनेको गण्डकी प्रदेश राजधानी पोखरामा पनि समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन् ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरको लेखनाथ क्षेत्रमा फाट्टफुट्ट डेंगुको संक्रमण देखिन सुरु भएको बताए ।
‘डेंगु संक्रमणको उच्च जोखिम रहने समय नजिक आइरहेकाले रोकथामका उपायबारे समुदायमा अभिमुखीकरणको काम गरिएको छ,’ उनले भने, ‘हाल कक्षा ७ देखि १० सम्मका विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई डेंगु संक्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको छ ।’
जनस्वास्थ्य निरीक्षक रेग्मीले डेंगु परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिरहेको बताए ।
गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६ सयजनाभन्दा बढीमा डेंगु संक्रमण भएको थियो । डेंगु संक्रमणबाट पोखरामा तीनजनाको मृत्यु भएको थियो । त्यसवेला प्रदेश स्वास्थ्य मन्त्रालयले पोखरा डेंगु संक्रमणको ‘हटस्पट’ बनेको उल्लेख गरेको थियो ।
गत वर्ष भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा यहाँ ६ गुणाले डेंगु संक्रमण बढेको थियो । महानगरपालिकाले लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गर्दै आए पनि डेंगु रोकथाम चुनौतीपूर्ण बन्दै गएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए ।
‘हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेंगु रोकथाम र नियन्त्रण गर्न कठिन छ । त्यसैले यस वर्ष सबैलाई सचेत रहन आग्रह गरिरहेका छौँ,’ उनले भने ।
डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्न पनि आग्रह गरिएको छ ।
डेंगु रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको वासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको जानकारहरूको भनाइ छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ ।
लामखुट्टको सोही जीवनचक्र खलबल्याउन वासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु नियन्त्रणको उत्तम उपाय भएको धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख डा. किरण तिवारीले बताए ।
उनका अनुसार गत वैशाखयता दुईजना डेंगु संक्रमित उक्त अस्पताल आएका छन् । संक्रमितले तुरुन्त परीक्षण गरी आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने डा. तिवारीको भनाइ छ ।
डेंगुको संक्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने उनले बताए । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेंगुलाई सामान्य रूपमा नलिन अस्पताल प्रमुख डा. तिवारीको आग्रह छ ।
‘डेंगु संक्रमण हुँदैमा आत्तिइहाल्नुपर्दैन र अधिकांश डेंगु संक्रमित सामान्य उपचारपछि निको हुने गरेका छन् । संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुन सक्छ,’ प्रमुख डा. तिवारीले भने, ‘डेंगु भएमा आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न हुँदैन । अधिकांश डेंगु संक्रमित सामान्य उपचारपछि निको हुने गरेका छन्।’
गर्भवती र बालबालिकामा डेंगुको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तिन सक्ने खतरा हुने हुँदा उच्च सावधानी अपनाउन उनको आग्रह छ ।
गत वर्ष कास्की, तनहुँलगायत जिल्ला डेंगु संक्रमणबाट बढी प्रभावित बनेका थिए । असारदेखि कात्तिकसम्म डेंगुको संक्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रूप लिन सक्ने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । जनघनत्व बढी भएका ठाउँमा डेंगु छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । रासस