१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १३:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री लेखकद्वारा महाकाली गाइडबन्ड र दोधाराचाँदनी सुक्खा बन्दरगाहकोे स्थलगत निरीक्षण  

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

गृहमन्त्री रमेश लेखकले कञ्चनपुर स्थित महाकाली गाइडबन्ड र दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको स्थलगत अनुगमन गरेका छन । आइतबार गृहमन्त्री लेखकले गत वर्ष महाकाली नदीको बाढीले भत्किएको गाइडबन्ड र दोधाराचाँदनी सुक्खा बन्दरगाहकोे स्थलगत निरीक्षण  गरेका हुन् । 

सरकारले भीमदत्त नगरपालिका ११, १२ र १३ वडालाई विपत् संकट घोषणा गरेपछि गत जेठदेखि नेपाली सेनाले भत्किएको तटबन्ध र महाकाली नदी सिधा धारमा बगाउने काम  गरिरहेको छ । स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले भत्किएको गाइडबन्डको काम सन्तोषजनक भइरहेको र समयमै गुणस्तरीय  निर्माण काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले बस्ती जोगाउनका  लागि अहोरात्र खटिने सेनाका जवानलाई समेत धन्यवाद दिएका छन । गृहमन्त्री रमेश  लेखकलाई सेनाका इन्जिनियर एवं कर्नेल निशान्त क्षेत्रीले तटबन्ध र नदीलाई जिरो प्वाइन्टबाट सिधा धारमा बगाउने काम भइरहेकोबारे जानकारी गराएका थिए । गृहमन्त्री लेखकले भत्किएको गाइडबन्ड पुनर्निर्माण भएसँगै तटीय क्षेत्रका जनता  विपतमुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

स्थानीयले भुजेला खोलासमेत महाकाली नदीमा सिधा धारमा बगाउनुपर्ने माग अघि सारेका छन् । भीमदत्त नगरपालिका– १३ का वडाध्यक्ष रामबहादुर बोहरा (झक्कास)ले भत्किएको तटबन्ध पुनर्निर्माण, महाकाली नदीझैँ भुजेला खोला सिधा धारमा बगाउनुपर्ने बताए । गाइडबन्डको स्थलगत अनुगमनसँगै गृहमन्त्री लेखकले दोधाराचाँदनीको सुक्खा बन्दरगाह स्थलको समेत अनुगमन  गरेका छन् । केही समयअघि सुक्खा बन्दरगाह निर्माण स्थलमा रुख काटेर जमिन खाली गराइएको थियो ।

गृहमन्त्री लेखकलाई कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य एवं उद्योगी तेजबहादुर चन्दले सुक्खा बन्दरगाहको कामकाज अघि बढाउन सरकारले तदारुकता देखाउनुपर्ने ध्यानाकर्षण गराएका छन । गृहमन्त्री लेखकले सुक्खा बन्दरगाह निर्माणका  लागि टेन्डर भइसकेको अब निरन्तर कामकाज अघि बढने विश्वास  व्यक्त गरेका छन् । गृहमन्त्री लेखकले कञ्चनपुरका प्रमुख  जिल्ला अधिकारी लक्ष्मण ढकालसहितका सुरक्षा प्रमुखसँग जिल्लाको शान्ति सुरक्षादेखि  विपत् व्यवस्थापन तयारीका विषयमा समेत जानकारी लिएका थिए ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा, सुशासनदेखि विपत् व्यवस्थापनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका थिए । गृहनगर पुगेका गृहमन्त्री रमेश लेखकलाई नेता–कार्यकर्ताहरूले जिल्लाको विकासदेखि विपत् व्यवस्थापनका  लागि आवश्यक माग अघि सारेका छन् । नेपाली कांग्रेस कञ्चनपुरकी नेतृ मीना कुँवरले भेटघाटका क्रममा नेता–कार्यकर्ताहरूले गृहमन्त्री लेखकसमक्ष राखेका विषयमा सरकारी निकायबाट सम्बोधन गरिने विश्वास दिलाएको बताइन् ।