
जैमिनी नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि सहायोग पुर्याउने उद्देश्यका साथ एक अर्बबराबरको नागरिक स्वास्थ्य उपचार कोष स्थापना गर्ने भएको छ । तीन वर्षअघि जैमिनी नागरिक स्वास्थ्य उपचार कोष घोषणा गरेर अभियान सुरु गरेको नगरपालिकाले हाल कोषमा ५० लाख १० हजार रुपैयाँ जम्मा भइसकेको जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुनले बताए ।
नगरपालिकाले पहिलो वर्ष १० लाख कोषमा जम्मा गरेर अभियान सुरु गरेको थियो । चालु आर्थिक वर्षमा १५ लाख जम्मा गरेको छ । आगामी आर्थिक वर्षमा २५ लाख जम्मा गर्ने गरी रकम विनियोजन गरिएको छ । ‘आगामी एक वर्षमै कोष वृद्धि गरेर एक करोड पुर्याउने छौँ,’ मेयर पुनले भने ।
कोषको व्याजबाट नागरिकको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्यसहित कोष निर्माण थालिएको मेयर पुनले बताए । कोष वृद्धिका लागि नगरपालिकाले आमनागरिकलाई पनि आह्वान गरेको छ ।
सामाजिक सुरक्षाको दृष्टिकोणबाट स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न नगरपालिकाले कोष स्थापना गरेको उनले बताए । कोषमा नागरिकको तर्फबाट जैमिनी नगरपालिकामै कार्यरत योजना अधिकृत प्रेम सापकोटाले आफ्नो जन्मदिनको अवसरमा १० हजार रुपैयाँ जम्मा गरेर कोषमा योगदान गर्ने पहिलो नागरिक भएका छन् ।