
खुला विश्वविद्यालयबाट कानुन विषयमा स्नातक (एलएलबी) पास गरेकाहरूले अब अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी हुन पाउने भएका छन् । सर्वोच्च अदालतले बिहीबार सो परीक्षामा सहभागी गराउन भन्दै अन्तरिम आदेश जारी गरेको हो ।
खुला विश्वविद्यालयबाट एलएलबी गरेका विद्यार्थीलाई नेपाल बार काउन्सिलले रोक लगाएपछि दीपक शाहले नेपाल कानुन व्यवसायी परिषद्लाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।
सो रिटमाथि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले बिहीबार सहभागी हुन दिनुपर्ने आदेश दिएको हो । काउन्सिलले गत २५ जेठमा खुला विश्वविद्यालयका विद्यार्थीलाई लाइसेन्स परीक्षाको फारम भर्न नमिल्ने भन्दै सूचना जारी गरेको थियो ।
सरकारकै विश्वविद्यालयविरुद्ध काउन्सिलले सूचना जारी गरेपछि यो विषय चर्किएको थियो । यसअघि पनि सर्वोच्चको आदेशपछि खुला विश्वविद्यालयका विद्यार्थीहरू लाइसेन्सको परीक्षामा सामेल हुन पाएका थिए ।