१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
विष्णु घिमिरे काठमाडाैं
२o८२ असार १९ बिहीबार o८:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रुपन्देहीको डिंगरनगर दूरगामी सहकारीमा तालाबन्दी : अध्यक्ष, सचिव र व्यवस्थापक सम्पर्कविहीन, १६ करोड हिनामिनाको आशंका

Read Time : > 1 मिनेट
विष्णु घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार o८:११:oo

रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ शान्तिचोकस्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी कार्यालयमा तालाबन्दी गरिएको छ । बचत अपचलनको विषयमा छानबिन सुरु भएपछि सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । बचत फिर्ताका विषयमा भएको छलफल र निर्णयको माइन्युट नै च्यातिएको भेटिएपछि बुधबार कार्यालयका कागजात सुरक्षित गर्न वडा कार्यालय तथा प्रहरीको सहयोगमा सहकारी कार्यालयमा ताला लगाइएको हो ।

सहकारीका सल्लाहकार बेलप्रसाद शर्माले आन्तरिक छानबिन गर्दा अपचलन भएको पाइएको र त्यसको अनुसन्धान जारी रहेकै अवस्थामा माइन्युट च्यात्ने काम भएको बताए । सिसिटिभी फुटेज हेर्दा सचिवले माइन्युट च्यातेको देखिएको उनले बताए ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुली सम्पर्कविहीन रहेको उनले जानकारी दिए । उच्च तहको स्वतन्त्र लेखापरीक्षक ल्याएर आन्तरिक रूपमा अध्ययन जारी रहेको अवस्थामा अहिले कति अपचलन भएको छ भन्न नसकिने उनले बताए । तर, करिब १६ करोड अपचलनको आशंका गरिएको शर्माले बताए ।

सहकारीमा १८ सय सदस्य छन् । ३४ करोड निक्षेप संकलन रहेको सहकारीमा २८ करोड कर्जा लगानी भएको र साढे चार करोड नगद मौज्दात रहेको उनको भनाइ छ । सहकारीको १० देखि १२ करोड मूल्य पर्ने जग्गा रहेको साथै दुधसँग सम्बन्धित उपकरण पनि रहेको उनले बताए । तिलोत्तमा वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेलले बचतकर्तालाई रकम अपचलन भएको थाहा पाएपछि थप कागजात र प्रमाण नष्ट हुन नदिन प्रहरीको सहयोगमा सहकारीको कार्यालयमा तालाबन्दी गरिएको बताए ।

सहकारीमा अनियमितता भएको पाइएपछि सल्लाहकार शर्मासहितको टोली बुधबार नै लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालय दाङ पुगेर कार्यालय प्रमुख सुरेशचन्द्र आचार्यलाई भेट गरेर रकम अपचलनबारे अनुसन्धान गर्न आग्रह गरेको छ । आचार्यले सहकारीको अनियमितता छानबिनका लागि टोली आएको र अनुसन्धानको प्रक्रियाबारे छलफल भएको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सहकारीको बचत अपचलन भएकोबारे जानकारी आएको र बचत अपचलनको गुनासो लिएर प्रहरीको सम्पर्कमा आउनेलाई प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा जान सुझाव दिने गरेको बताए । सुरुमा हेर्ने निकाय सहकारी दर्ता अधिकारीको कार्यालयको भन्दै उनले त्यहाँबाट पत्र आएमा प्रहरीले अनुसन्धान गर्ने बताए ।