१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १९ बिहीबार o७:o६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिसी यू–१६ इस्ट जोन कप :  नेपाल र मलेसियाबिचको सेमिफाइनल आज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार o७:o६:oo

साबिक विजेता नेपालले एसिसी पुरुष यू–१६ इस्ट जोन कपमा बिहीबार फाइनल प्रवेशका लागि घरेलु टोली मलेसियासँग खेल्दै छ । दुई टोलीबिचको पहिलो सेमिफाइनल सिलेंगर ट्रफ क्लबमा नेपाली समयअनुसार बिहान ७:४५ बजे सुरु हुनेछ । नेपाल समूह ‘ए’को विजेता र मलेसिया समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् । समूह ‘ए’मा नेपालले चारै खेलमा उत्कृष्ट नतिजा निकाली अन्तिम चारको स्थान पक्का गरेको थियो । नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटानमाथि सानदार जित निकालेको थियो । 

आयोजक मलेसियाले समूह ‘बी’मा चारमध्ये तीन खेलमा जित निकाली सेमिफाइनल स्थान पक्का गरेको थियो । अर्को सेमिफाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता सिंगापुरबिच खेल हुनेछ । सन् २०२३ को संस्करणको फाइनलमा नेपालले मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराउँदै 
उपाधि हात पारेको थियो । 

व्यक्तिगत प्रदर्शनमा नेपाल नै अगाडि
प्रतियोगिताको व्यक्तिगत प्रदर्शनमा नेपाली खेलाडी नै अगाडि छन् । ब्याटिङतर्फ रौनक श्रीवास्तव सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । उनले तीन खेलमा २९६ रन बनाएका छन् । समूह चरणमा उनले इन्डोनेसियाविरुद्ध शतकीय इनिङ्स खेलेका थिए । नेपालका प्रसिद्ध जैसी २२७ रनका साथ दोस्रो र मलेसियाका अहान २२५ रनका साथ तेस्रो स्थानमा छन् । प्रसिद्धले पनि प्रतियोगितामा समान एक शतक तथा अर्धशतकीय इनिङ्स खेलेका छन् । 

यसैगरी, बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्मा धेरै विकेट लिने बलर हुन् । उनले चारै खेलमा गरी १५ विकेट हात पारेका छन् । मलेसियाका मोहमद अमिरुल दोस्रो स्थानमा छन् । उनले ११ विकेट हात पारेका छन् । यसैगरी स्ट्राइक रेटमा नेपालका ओपनर परिमार्जन यादव शीर्ष स्थानमा छन् । उनको स्ट्राइक रेट २२८.१३ रहेको छ । यसैगरी इकोनोमी बलिङको सूचीमा मलेसियाका मोहमद दानिस छन् । उनले ०.७० को इकोनोमीमा बलिङ गरेका छन् । नेपालका सुयोग भट्टराई १.७८ इकोनोमीसहित दोस्रो स्थानमा छन् ।