१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

विदेशी पर्यटकको संख्या घट्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४७:oo
  • ६ महिनामा पाँच लाख ७७ हजार ६ सय ८९ जना विदेशी पर्यटक
  • सन् २०२५ को ६ महिनामा सार्क क्षेत्रको पर्यटक आगमन ११ प्रतिशतले घट्यो
  • भारतीय पर्यटक घटे, तर बंगलादेश र  पाकिस्तानी पर्यटकको संख्या भने बढ्यो

नेपालमा पर्यटनका लागि उपयुक्त अवधि मानिएको वसन्त ऋतुमा पनि अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण कम देखिएको छ । सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार ६ सय ८९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जुन महिनामा मात्रै ७६ हजार चार सय २५ जना पर्यटक भित्रिएका छन् । तर, यो संख्या सन् २०२४ को सोही अवधिको तुलनामा ०.९ प्रतिशतले कम हो । सन् २०२४ को पहिलो ६ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक भित्रिएका थिए ।

नेपाल भित्रिने पर्यटकमा एसियाली राष्ट्रका पर्यटकको वर्चस्व रहेको छ । दक्षिण एसियाली (सार्क) राष्ट्रबाट यो वर्ष दुई लाख तीन हजार दुई सय ४२ जना पर्यटक आएका छन् । यो कुल आगमनको ३५.२ प्रतिशत हो । तर, यो अघिल्लो वर्षको तुलनामा ११.८ प्रतिशतले घटेको देखिन्छ । जुन महिनामा मात्रै दक्षिण एसियाली मुलुकमा भित्रिने पर्यटकको संख्यामा ७.८ प्रतिशतको कमी छ । खासगरी भारतीय पर्यटकको संख्यामा कमी आउँदा यसको प्रभाव सिंगो सार्क क्षेत्रको पर्यटक आगमनमा देखिएको छ । सन् ०२४ को जुनमा ३७ हजार ८ सय ३५ जना भारतीय पर्यटक आएका थिए । यसपालि यो संख्या ३२ हजार ६ सय ६२ मा सीमित छ । जुनमा बंगलादेश र पाकिस्तानबाट भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको देखिन्छ । बंगलादेशी पर्यटक आगमन ४१.३ प्रतिशतले बढेको छ भने पाकिस्तानी पर्यटक ३१.२ प्रतिशतले बढेको छ । 

एसियाभित्रकै भारतपछिको चीनबाट भित्रिने पर्यटकमा १०.१ प्रतिशतले कमी आएको छ । सन् ०२४ को जुनमा सात हजार चार सय ९४ चिनियाँ पर्यटक आगमन भएकोमा सन् ०२५ को जुनमा ६ हजार सात सय ३६ जना मात्रै भित्रिएका छन् । 

मध्यपूर्वी देशका पर्यटक आगमनमा वृद्धि
एसियाका अन्य देशबाट एक लाख ३२ हजार सात सय ५० जना पर्यटक आएको तथ्यांक छ ।  यस्तै, युरोपबाट एक लाख दुई हजार पाँच सय २४, ओसिनिया क्षेत्रबाट २४ हजार एक सय ६९, अमेरिका क्षेत्रबाट ७० हजार चार सय ५६, मध्यपूर्वबाट १० हजार एक सय २५, अफ्रिकाबाट दुई हजार ५२ र अन्य क्षेत्रबाट ३२ हजार तीन सय ७१ जना पर्यटक आएका छन् । विशेष गरी, मध्यपूर्व क्षेत्रबाट सन् २०२५ मा उल्लेखनीय रूपमा ४२.७ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । अमेरिकाबाट ९.१ प्रतिशत, युरोपबाट ४.३ प्रतिशत र ओसिनियाबाट १७.३ प्रतिशतले आगमन बढेको छ । यसैबिच, एसियाका अन्य देशबाट भने २५.९ प्रतिशतले र अफ्रिकाबाट ५.८ प्रतिशतले आगमन घटेको देखिन्छ । यद्यपि, कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्र बिस्तारै पुरानै लयमा फर्किँदै गएको देखिन्छ ।

जुन महिनामा भारतबाट ३२ हजार ६ सय ६२, अमेरिकाबाट नौ हजार ६ सय ९६, चीनबाट ६ हजार सात सय ३६, बंगलादेशबाट ५ हजार चास सय ४९, बेलायतबाट दुई हजार दुई सय ८४, अस्ट्रेलियाबाट एक हजार आठ सय ३१, मलेसियाबाट एक हजार तीन सय ८४, भुटानबाट एक हजार एक सय ६७, जापानबाट एक हजार १९ र दक्षिण कोरियाबाट एक हजार दुई सय पर्यटक नेपाल भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सन् २०२४ को जुन महिनामा ७६ हजार तीन सय ३३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी, सन् २०२३ को जुन महिनामा ७२ हजार दुई सय ५० जना पर्यटक नेपाल भित्रिएका थिए । कोभिड महामारी सुरु हुनुभन्दाअघि सन् २०१९ को जनवरीदेखि जुनसम्म पाँच लाख ७३ हजार ६ सय ५८ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सुधारोन्मुख भएको पर्यटन बोर्डको दाबी
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटक आगमन सुधारन्मुख भएको बताएका छन् । उनले भने, ‘अझै हामी नेपालमा पर्यटक बढाउन मुख्य पर्यटक बजार भएका मुलुकमा डिजिटल मार्केटिङ र हाम्रा पर्यटन उत्पादनको ब्रान्डिङ गर्ने कामलाई थप तीव्रता दिन्छौँ । यसले नेपालमा पर्यटक बढोत्तरी हुने हाम्रो विश्‍वास छ ।’ 

नेपाललाई सम्झनलायक गन्तव्य बनाउने पर्यटन बोर्डको योजना
मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई पर्यटन बोर्डले जानकारी गराएको छ । 
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाललाई ‘विश्वकै सबैभन्दा अनुभवमूलक र जीवनभर सम्झनलायक गन्तव्य’को रूपमा स्थापित गर्ने योजना अघि सारेको बताए ।

‘पर्यटन सडक पूर्वाधार आयोजना’अन्तर्गत काठमाडौं–पोखरा, नारायणघाट–बुटवल, धुलिखेल–रामेछाप, रसुवा–केरुङ, बुटवल–पाल्पा–पोखरा आदि मार्गहरूमा सुधार गर्नुपर्ने सिइओ जोशीले बताए । दीर्घकालीन योजनाअनुसार आगामी वर्षहरूमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भिœयाउने, १४ लाख रोजगारी सिर्जना गर्ने र २.५ खर्ब रुपैयाँको पर्यटन आम्दानी प्राप्त गर्ने लक्ष्य बोर्डले राखेको छ ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले पर्यटन बोर्डले गरिरहेका गतिविधिहरूको प्रशंसा गर्दै मन्त्रालय नीतिगत र संरचनागत सुधारका काममा लागिरहेको बताए । उनले भने, ‘पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौँ । उहाँहरू पनि बोर्डको सहजीकरणबाट विश्वस्त र उत्साहित हुनुहुन्छ । पर्यटन बोर्ड थिंकट्यांक पनि हो । त्यसकारण बोर्ड थप रणनीतिक तवरमा अघि बढ्नेछ भन्नेमा विश्वस्त छु ।’

समितिका सभापति राजकिशोर यादवले पर्यटन बोर्डले आफ्ना समस्यालाई प्राथमिकीकरण गरेर ल्याउन आग्रह गर्दै खरिद नियमावली, पूर्वाधार विकास तथा सडक र हवाई यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बोर्डका सिइओ जोशीले भने, ‘चालु आर्थिक वर्ष ०८१/८२ मा ९३.३५ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष ०८२/८३ का लागि एक करोड ३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य हामीले राखेका छौँ ।’