
कप्तान सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा नेपाली महिला फुटबल टोलीले एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगितामा बुधबार श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने डिफेन्डर गीता रानाले दुई गोल गरिन् । यसैगरी, निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल गरेका छन् । यसअघि नेपालले अन्तर्राष्ट्रिय खेलमा नयाँ प्रतिद्वन्द्वी लाओसमाथि १०–० को सानदार जित निकालेको थियो ।
एकपक्षीय खेलमा नेपालले ३४ भन्दा बढी गोल प्रयास गरेको थियो । खेलको ८६औँ मिनेटमा प्रीति राई घाइते हुँदै मैदानबाट बाहिरिइन् । जितसँगै नेपालले समूह ‘एफ’मा ६ अंक बटुलेको छ । समग्रमा नेपालले दुई खेलमा १७ गोल गरेको छ । समूहकै अर्काे खेलमा बलियो उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० ले हराएको थियो । समूहको शीर्ष एक टोलीले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।
नेपाल र उज्वेकिस्तानमध्ये एक टोलीले एसिया कपमा स्थान बनाउने सम्भावना रहेको छ । अब, समूहको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । यस खेलको नितिजाले एसिया कपमा स्थान पक्का गर्ने टोलीको टुंगो लाग्नेछ ।
पहिलो हाफमै सावित्राको ह्याट्रिक
कप्तान सावित्राले लगातार खेलमा उत्कृष्ट प्रदर्शन गरी श्रीलंकाविरुद्ध पहिलो हाफमै ह्याट्रिक पूरा गरेकी थिइन् । खेलको सातौँ मिनेटमा गीता रानाले नेपाललाई १–० को अग्रता दिलाइन् । खेलको २०औँ मिनेटमा सावित्राले अनिता बस्नेतको पासमा व्यक्तिगत पहिलो गोल गरिन् । उनले डिबक्सभित्र प्राप्त पासमा वान टचमै गोल गरेकी हुन् । खेलको ४४औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरिन् । यसपटक रश्मिकुमारी घिसिङले दिएको कटब्याकमा सावित्राले नेपाललाई ३–० को स्थितिमा राखिन् । सावित्राले पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पूरा गरिन् । सविता रानामगरको पासमा अनमार्कमा रहेकी सावित्राले सहजै गोल गरिन् ।
पहिलो हाफमा नेपालले ४–० को अग्रता लियो । दोस्रो हाफमा लय नबिगारेको नेपालले थप चार गोल गर्यो । खेलको ५४औँ मिनेटमा गीता रानाले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरिन् । श्रीलंकाकी डिफेन्डर सचिनी सिल्भाले रश्मिकुमारीलाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । गीताले सहजै गोल गरेकी हुन् । खेलको ६२औँ मिनेटमा डिफेन्डर निशा थोकरले छैटौँ गोल गरिन् ।
खेलको ७८औँ मिनेटमा वैकल्पिक खेलाडी रेखा पौडेलले नेपाललाई ७–० को अग्रता दिलाइन् । पूजा रानाले मिलाएको पासमा सिक्स यार्ड बक्समा रेखाले हेडिङ गोल गरेकी हुन् । खेलको ८२औँ मिनेटमा पूजाले नेपालको जित ८–० ले पक्का पारिन् । उनले श्रीलंकन डिफेन्डरको गल्तीमा गोल गरेकी हुन् ।
अञ्जिला दोस्रो खेलमा पनि बेन्चमै
मुख्य प्रशिक्षक प्याट्रिक डी विल्डेले पहिलो खेलमा लाओसविरुद्ध सरु लिम्बूलाई मात्रै परिवर्तन गरेका थिए । सरुको स्थानमा अर्की मिडफिल्डर प्रीति राईले मौका पाएकी थिइन् । पहिलो खेलमा बेन्चमा रहेका रेखा पौडेल र पूजा रानाले श्रीलंकाविरुद्ध पहिलो ११ मा स्थान बनाउन सकेनन् । यस्तै, नियमित गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बाले लगातार दोस्रो खेलमा खेल्ने अवसर पाइनन् । उनको स्थानमा गोलपोस्टको जिम्मा अञ्जना रानामगरले पाइन् । कमजोर प्रतिद्वन्द्वी श्रीलंकाविरुद्ध तेस्रो रोजाइकी गोलरक्षक उषा नाथले मौका पाउने अपेक्षा थियो ।
प्रशिक्षक प्याट्रिकले दोस्रो खेलमा पनि अञ्जनालाई निरन्तरता दिए । प्रशिक्षकले डिफेन्डरमा गीता रानामगरसँगै निशा थोकर र समीक्षा घिमिरेलाई निरन्तरता दिएका थिए । डिफेन्सिभ मिडफिल्डरमा प्रीति र सरस्वती हमालले मौका पाए । मिडफिल्डरमा पूर्वकप्तान रेनुका, सविता रानामगर र अनिता बस्नेत रहे । स्ट्राइकरमा सावित्रालाई रश्मिकुमारीले सहयोग गरेकी थिइन् ।
बंगलादेश पहिलोपटक एसिया कपमा
बंगलादेशको महिला राष्ट्रिय फुटबल टोली पहिलोपटक अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसिया कपमा छनोट भएको छ । छनोट प्रतियोगिताअन्तर्गत बुधबार समूह ‘सी’मा बहराइन र तुर्किमिनिस्तानबिच २–२ को बराबरी भएपछि बंगलादेशले समूह विजेताका रूपमा एसिया कपमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले फिफा वरीयतामा आफूभन्दा माथि रहेको म्यानमारलाई हराउँदै एसिया कपमा छनोटल भएको हो । बंगलादेशले म्यानमारलाई २–१ ले स्तब्ध बनायो । बंगलादेशको जितमा रितु पुर्ना चक्माले दुवै गोल गरिन् । फिफा वरीयतामा म्यानमार ५५ र बंगलादेश १२८औँ स्थानमा छन् ।
मुख्य चुनौती पार गर्छौँ : सावित्रा भण्डारी, कप्तान, नेपाल
लगातार दुई खेल जित्दै ६ अंक जोडेका छौँ । हाम्रो मुख्य चुनौती नै उज्वेकिस्तान हो । त्यो चुनौती स्विकार्नुपर्छ । उत्कृष्ट नतिजाका साथ आगामी खेलका लागि खेलाडीहरू उत्सुक छन् । सबै खेलाडीबिचको तालमेल मिलेकाले गोल निस्किरहेको छ । प्रशिक्षणका क्रममा जे–जे सिक्यौँ, त्यो मैदानमा लागू भइरहेको छ । एक किसिमले खेलाडीहरूले आ–आफ्नो स्थानमा प्राप्त ड्युटी पूरा गरेका छन् । सुरुमा सेटपिसबिचको कम्बिनेसनबारे प्रशिक्षण भएको थियो । त्यसपछि कर्नर र फ्रिकिकमा जोड दिइएको थियो । खेलाडीहरूले अर्गनाइज रूपमा खेलिरहेका छन् ।