१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रौनकले राखे घरेलु र अन्तर्राष्ट्रिय सर्वाधिक व्यक्तिगत रन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२६:oo
  • रौनक श्रीवास्तवले उमेर समूहको अन्तर्राष्ट्रिय खेलमा भुटानविरुद्ध १६८ तथा घरेलु प्रतियोगितामा गण्डकीविरुद्ध २१७ रनको रेकर्ड राखेका छन्

युवा खेलाडी रौनक श्रीवास्तवले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । मलेसियामा चलिरहेको एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा रौनकले भुटानविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै रेकर्ड बनाएका हुन् । नेपालबाट प्रतिनिधित्व गर्दै उनले अन्तर्राष्ट्रिय उमेर समूहको खेलमा मंगलबार भुटानविरूद्ध १६८ रन जोडे । उनले १३२ बलमा १६ चौका र पाँच छक्का प्रहार गरेका थिए । भुटानविरुद्ध उनले जोडेको रन नेपालले उमेर समूहको अन्तर्राष्ट्रिय खेलमा प्रहार गरेको व्यक्तिगत उच्च योगफल हो ।

उमेर समूहको क्रिकेटमा नेपाली ब्याट्सम्यानले पहिलोपटक १५० रन जोडेका हुन् । राष्ट्रिय पुरुष टोलीबाट कप्तान रोहित पौडेलले २०७८ मा पपुवा न्युगिनीविरुद्ध १२६ रन बनाएका थिए । उमेर समूहमा सन् २००३ मा अर्जुन कुमालले एसिसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४३ रनको व्यक्तिगत रेकर्ड राखेका थिए । रौनकले दुई वर्षभित्र नै कुमालको रेकर्ड तोड्न सफल भए । घरेलु प्रतियोगितामा रौनकको नाममा दोहोरो शतकीय इनिङ्स रेकर्ड छ । गत जेठमा टिबी शाह स्मृति यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उनले गण्डकीविरुद्ध २१७ रनको दोहोरो शतक लगाएका थिए ।

लुम्बिनी प्रदेशका मध्यक्रम ब्याट्सम्यान रौनकले गण्डकीविरुद्ध ११७ बलमा समान १६ चौका र छक्का प्रहार गरेका थिए । एसिसी इस्ट यू–१६ प्रतियोगितामा रौनकले तीन इनिङ्स ९८.६६ को औसतमा २९६ रन बनाएका छन् । उनले सिंगापुरविरुद्ध पहिलो खेलमा ४४ बलमा ४० रन जोडे । जापानविरुद्ध दोस्रो खेलमा उनको ब्याटिङ पालो नै आएन । सो खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो । इन्डोनेसियाविरुद्धको तेस्रो खेलमा उनले ७१ बलमा ८८ रनको आक्रामक इनिङ्स खेलेका थिए । उमेर समूहको घरेलु तथा अन्तर्राष्ट्रियमा रेकर्ड बनाएका रौनकले भारतको नौगढमा क्रिकेटको प्रारम्भिक प्रशिक्षण लिएका थिए ।

नेपाल २९८ रनले विजयी
भुटानविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालले पहिलो ब्याटिङ गरी पाँच विकेट गुमाएर तीन सय ५८ रन जोडेको थियो । प्रत्युत्तरमा नेपालको कसिलो र घातक बलिङ सामना गर्न नसक्दा भुटान ३२.४ ओभरमा ६० रनमै समेटिँदा दुई सय ९८ रनले पराजित भयो । 

सुरुवाती ब्याटिङ गरेको नेपालको ओपनिङ राम्रो भएन । इनिङ्सको ०.४ ओभरमा परिमार्जन यादव र ४.३ ओभरमा फर्ममा रहेका ब्याट्सम्यान प्रसिद्ध जैसीको विकेट नेपालले गुमाएको थियो । दुवै ओपनर पेभेलिन फर्कँदा नेपाल १७–२ को स्थितिमा रह्यो । 

श्रीनिवास बजगाईं र रौनकले तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गर्दै नेपाललाई १८.३ ओभरमा १०८–३ को स्थितिमा राखे । श्रीनिवासले ५२ बलमा पाँच चौकाको सहयोगमा ५४ रन जोडे । रौनकले सुगम बुढाथोकीसँग चौथो विकेटका लागि ८० रनको साझेदारी गरे । सुगमले ३३ बलमा चार चौका प्रहार गरी ३५ रन बनाए । रौनकले पाँचौँ विकेटका लागि जोय थापासँग १७० रनको साझेदारी गर्दै नेपाललाई ४९.४ ओभरमा ३५०–५ बलियो स्थितिमा राखे । जोयले ६१ बलमा ६७ रन जोडे । उनले सात चौका प्रहार गरेका थिए । 

विशाल लक्ष्य पछ्याएको भुटानले नेपाली कप्तान विपिनप्रसाद शर्माको घातक बलिङ सामना गर्न सकेनन् । विपिनले १० ओभरमा ६ मेडन राखी सात रन खर्चेर सर्वाधिक चार विकेट लिए । यसैगरी, भुटानले पहिलो विकेटका लागि ८.२ ओभरमा २१ रनको साझेदारी गरेको थियो । भुटानले ९.२, ९.५ र ९.६औँ ओभरमा तीन विकेट गुमाएको थियो ।