
भारी वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्र सोमबार दिनभर डुबानमा परेको छ । वर्षाले धनगढीका अधिकांश भूभाग जलमग्न बने । वर्षा र डुबानका कारण यहाँका बासिन्दाको जनजीवन दिनभर अस्तव्यस्त बन्यो । जिल्ला प्रशासन कार्यालयका अनुसार वर्षाबाट धनगढीमा करिब एक हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयले अविरल वर्षाका कारण बस्तीहरू जलमग्न हुँदा नगरभरि दुई सय ५४ घरमा पानी पसेको विवरण संकलन गरेको छ ।
आवतजावतमा असहज भएपछि सोमबार यहाँका अधिकांश विद्यालय सञ्चालन हुन सकेनन् । धनगढी बजार आंशिक रुपमा मात्र खुल्यो । अविरल वर्षाले जलमग्न भएपछि सेती प्रादेशिक अस्पताल तथा मालपोत, नापीलगायत कार्यालयका सेवा प्रभावित बने । मुख्य बजारको रातोपुल, क्याम्पस रोडलगायत क्षेत्रका केही पसलहरू डुबानमा परेका थिए । प्राय: निकै व्यस्त रहने धनगढी बजार क्षेत्रमा दिनभर मानिसको आवतजावन न्यून थियो । वर्षा र डुबानका कारण गोदावरी नगरपालिकामा पनि स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
धनगढी उपमहानगरपालिकाभित्र मात्रै करिब एक हजार घर वर्षाले प्रभावित बनेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वर्षा रोकिएसँगै साँझ अधिकांश ठाउँको डुबान हटेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढीमा घर डुबानमा परेपछि दुई परिवारलाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए । ‘धनगढीमा हजारभन्दा बढी घरमा पानी पसेको थियो । वर्षा रोकिएपछि डुबान हटेर जनजीवन सामान्य बन्न थालेको छ,’ उनले भने । वर्षाले धनगढी उपमहानगर र गोदावरी नगर क्षेत्र बढी प्रभावित बनेको जोशीले बताए ।
गोदावरीमा करिब साढे चार सय घरधुरी डुवानका कारण प्रभावित बनेका प्रशासनले जनाएको छ । कञ्चनपुरमा पनि कृष्णपुर, बेलौरी, पुनर्वास, लालझाँडीमा पनि भारी वर्षा भएर जनजीवन प्रभावित बनेको थियो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा अव्यवस्थित सहरीकरण, खोलानाला अतिक्रमण र निकासको व्यवस्था नहुँदा बर्खायाममा डुबानको समस्या बढ्दो छ । अविरल वर्षाका कारण आइतबार मुख्य बजार क्षेत्रसँगै हसनपुर, तारानगर, जाई, शिवनगर, क्याम्पस रोड, मनेहरालगायत क्षेत्रका कयौँ बस्ती जलमग्न बनेका थिए ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार अत्तरिया क्षेत्रमा पछिल्लो २४ घण्टामा २३८.६ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरको बेलौरीमा सो अवधिमा २७९.४ मिलिमिटर वर्षा मापन भएको कार्यालयका प्रमुख इन्जिनियर सञ्जय शाहले जानकारी दिए । ‘यो अति भारी वर्षा हो । चुरे क्षेत्रमा यति वर्षा भएको भए ठुलो समस्या निम्तिन सक्थ्यो,’ उनले भने । बेलुकीबाट वर्षा रोकिएको र थप वर्षा नहुने मौसम पूर्वानुमान रहेको उनले बताए । कार्यालयका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।