
मकवानपुरको कैलाश गाउँपालिकाबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले एक हजार ७४ किलो लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ।
मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाश– ५, कटहरेका ७३ वर्षीय हरिबहादुर वाइबा, ४८ वर्षीय बद्रीबहादुर भनिने बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्।
उनीहरूलाई कैलाश– ५, कटहरेबाट सोमबार बिहान ८ बजे पक्राउ गरिएको हो। ठुलो परिमाणमा गाँजा रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले छापा मारी उक्त परिमाणको लागुऔषध गाँजासहित चारजनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्त श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार संयुक्त प्रहरी टोलीमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष प्रहरी टोलीसहित जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी परिचालन भएका थिए। कैलाश–५ कटहरेस्थित एक घरमा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारैजनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद गाँजा र पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको प्रवक्ता अर्यालले बताए।