
प्रमुख सत्तारूढ दल कांग्रेसले संघीय र प्रदेश सरकारहरूको समीक्षा गर्न थालेको छ । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि सरकारको कामकारबाही, भ्रातृ संस्थाहरूको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरणलगायतका एजेन्डा तय गरिएका छन् ।
बजेटलगायतका केही विषयमा कांग्रेस सांसदहरूले सरकारको कठोर आलोचना गर्दै आएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो । संघीय सरकार गठनको झन्डै एक वर्ष पुग्नै लाग्दा तथा कतिपय विषयमा प्रधानमन्त्री केपी ओलीका कामप्रति असन्तुष्टि जनाइरहेको वेला कांग्रेसले एजेन्डा नै बनाएर गठबन्धन सरकारको समीक्षा गर्न लागेको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे बैठकमा छलफल हुने बताए । उनका अनुसार मन्त्रीहरूले आ–आफ्नो कामकारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउनेछन् । ‘गठबन्धन सरकारका अनुभव र समस्यालगायतका विषयमा चर्चा हुन्छ नै । सम्बन्धित मन्त्रीले पनि आफ्नो कार्यसम्पादन राख्नुहुनेछ,’ प्रवक्ता महतले भने, ‘प्रदेशमा पनि हामी गठबन्धन सरकारमा समावेश छौँ ।
सातै प्रदेशका पार्टी प्रमुख पनि बैठकमा आउनुहुन्छ र प्रदेश सरकारबारे रिपोर्टिङ गर्नुहुन्छ ।’ यस्तै, बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा पनि निर्णय लिने भएको छ । ‘७७ वटै जिल्लामा पार्टीको अवस्थाको मूल्यांकन र छलफल हुन्छ,’ महतले भने ।