
इजरायलले ३० जेठमा इरानमा ‘अपरेसन राइजिङ लायन’का नाममा गरेको हमला र इरानको प्रतिकारसँगै भएका दोहोरो जवाफी लडाइँ १० असारदेखि स्थगित छ । युद्ध विस्तारको आशंकाबिच अमेरिकी प्रयासमा युद्धविरामको अवस्था अहिले कायम छ, तर मध्यपूर्व मात्र नभएर दक्षिण एसियासमेत सतर्क अवस्थामा छ । इरानमा रहेका १६ मध्ये नौजना नेपाली भारतीय सहयोगमा स्वदेश फर्केका छन् । तर, इजरायलबाट कोही पनि फर्केका छैनन् । युद्धको बिचमा नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने परराष्ट्रको गृहकार्य स्थगित भएको छ ।
इजरायल र इरानबिचको पछिल्लो युद्धको १२ दिनमा इरानमा कम्तीमा ६१० जनाको मृत्यु भएको छ । इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको सम्बन्धित सरकारी तथ्यांक छ । इरानका सैन्य अधिकारी र वैज्ञानिकसमेत मारिएका छन् । युद्धको विस्तार हुने भयका कारण मध्यपूर्वमा रहेका १५ लाखभन्दा बढी नेपाली नागरिक पनि त्रासमा थिए । इजरायलबाट ३५ जनाले तत्काल उद्धारका लागि अनुरोध गरेका थिए भने नेपाली दूतावासको विद्युतीय फारममा करिब ११ सय नेपालीले विवरण भरेका थिए ।
परराष्ट्र मन्त्रालय प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री भन्छन् परिस्थितिलाई नजिकबाट सतर्कतापूर्वक हेरिरहेका छौँ । इरानबाट नौजना फर्किनुभयो र दुई देशबिच युद्धविरामसँगै अब इरान र इजरायलबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छैन ।
‘हामी परिस्थितिलाई नजिकबाट सतर्कतापूर्वक हेरिरहेका छौँ । इरानबाट नौजना फर्किनुभयो र दुई देशबिच युद्धविरामसँगै अब इरान र इजरायलबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने, ‘इरानमा रहेका सातजना र इजरायलमा रहेका करिब सात हजार नेपाली सबै सुरक्षित हुनुहुन्छ । हाम्रा सम्बन्धित दूतावासहरू उहाँहरूसँग सम्पर्कमा छन् ।’
अमेरिकाले इरानका आणविक केन्द्रहरूमा हमला गरेसँगै इरानले कतारस्थित अमेरिकी लजिस्टिक बेसमा आक्रमण गरेपछि १० असारबाट युद्ध रोकिएको थियो । इरानबाट गत साता मंगलबार र बुधबार गरी नौजना नेपाली भारतीय उद्धार जहाजबाट भारत हुँदै स्वदेश आइपुगेका छन् । इरानमा पाँचजना नेपाली अध्यागमन कानुनअन्तर्गत जेलमा छन् भने दुईजना तेहरानमा छन् । एकजना त्यहाँस्थित भारतीय दूतावासमा कार्यरत छन् भने अर्का नागरिक पनि भारतीय नागरिकसँगै कार्यरत छन् । ‘अब तेहरानमा रहेका दुईजना तत्काल नआउने जानकारी छ । जेलमा रहेका पाँचजनालाई तेहरानको एउटा जेलबाट अर्कोमा सारिएको खबर आएको छ । उहाँहरूलाई रिहा गराउने प्रक्रियामा छौँ,’ परराष्ट्रका एक अधिकारीले भने ।
इरानबाट यज्ञ मरासिनी, राजु खनाल, विष्णुप्रसाद भुसाल, गायत्री कार्की, उत्सव थापा, सागर पौडेल, बुद्धि भुसाल, सुमन गैरे, गणेश पोखरेल स्वदेश फर्केका छन् । तेहरानमा रहेका हरि थापा र विष्णु बन्जाडे नफर्किने भएका छन् । तेहरानस्थित इजरायली अध्यागमनको थुनामा रहेका पाँचजना नेपाली नागरिक महेश डाँगी, बालकृष्ण खड्का, पुष्कर खत्री, मदन डाँगी र गोविन्द डाँगीको जेल सरुवा भएको छ । उनीहरूलाई स्वदेश फर्काउन दोहास्थित नेपाली दूतावासले कागजपत्र बनाइसके पनि कागजपत्र पुगिसकेको छैन ।
नेपाललाई पाठ के हो ?
नेपालले इजरायलबाट इरानमा हमलापछिको युद्धलगत्तै प्रतिक्रिया जनाएर दुवै पक्षलाई संयम अपनाउन अनुरोध गरेको थियो । नेपालले परिस्थितिप्रति चिन्ता जनाउँदै कूटनीतिक संवादबाट समाधान खोज्न र थप युद्ध विस्तार हुनबाट रोक्न अनुरोध गरेको थियो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायली राजदूतलाई बोलाएर त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चिन्ता जनाएकी थिइन् । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र सामरिक मामिलाविज्ञ विनोज बस्न्यात इजरायल–इरान युद्धबाट नेपालले पाठ सिक्नुपर्ने बताउँछन् ।
‘सामरिक भूस्थापन भएका र स्रोतहरूको भण्डार भएका वा हुन सक्ने देखिएका देशहरूले आन्तरिक राजनीतिक सञ्चालन, सुरक्षा संस्कृतिको विकास र कूटनीतिको अभ्यासमा संयम, परिपक्व तथा नजिक र टाढाको सामरिक मौसमसँग तादात्म्यता राख्नुपर्छ,’ पूर्वपरराष्ट्रमन्त्री पाण्डेले भने । सामरिक मामिलाविज्ञ बस्न्यातले भने, ‘भूपरिवेष्टित र निर्भर अर्थतन्त्रका रूपमा नेपालले हाल रोकिएको र भविष्यमा हुन सक्ने युद्धको बाह्य झड्काबाट जोगाउन क्षेत्रीय समन्वय र संस्थागत तयारीलाई बलियो बनाउनुपर्छ ।’