
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल )का लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ । पोखराले यो सिजनका लागि कुशलसहित न्युजिल्यान्डको घरेलु क्रिकेट खेल्ने दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, विपिन खत्री, त्रितराज दास र आकाश चन्दलाई रिटेन गरेको हो ।
पहिलो संस्करणमा पोखरा आठ सहभागी टोलीमध्ये सातौँ स्थानमा रहेको थियो । पोखराले सात खेलमा दुई जित र पाँच हारको सामना गरी ४ अंक जोडेको थियो । पोखराले दोस्रो सिजनका लागि पाँच खेलाडीलाई रिलिज गरेको छ । नारायण जोशी, दिलीप नाथ, सुनाम गौतम, अमृत गुरुङ र सुदीप अर्याल टोलीबाट अलग भएका छन् ।
पहिलो सिजनमा पोखरा एनपिएलकै सर्वाधिक महँगो टोली थियो । पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीका अनुसार दोस्रो सिजनलाई भव्य बनाउन टोलीमा चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी भइरहेको बताएका छन् । ‘दोस्रो सिजनका लागि विश्वकै नाम चलेका क्रिकेटरसँग संवाद गरिरहेका छौँ ।
पोखरालाई बलियो बनाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘चर्चित खेलाडीको आगमनले एनपिएलको पनि गरिमा बढाउने विश्वास छ ।’ नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा दोस्रो संस्करणको एनपिएल नोभेम्बरमा हुने उल्लेख छ । यद्यपि, हालसम्म औपचारिक मिति सार्वजनिक गरिएको छैन ।