१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १३ शुक्रबार २२:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्पेन उड्नुअघि प्रधानमन्त्री ओली शनिबार चार कार्यक्रममा सहभागी हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार २२:५८:oo

स्पेन भ्रमणमा जाने दिन प्रधानमन्त्री केपी ओली शनिबार चार कार्यक्रममा सहभागी हुने तय भएको छ । बिहान र दिउँसो विभिन्न कार्यक्रममा सहभागी भएर उनी साँझ विदेश भ्रमणमा जान लागेका हुन् । 

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार शनिबार बिहान ९ बजे पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण तथा पार्क उद्घाटन गर्ने कार्यक्रम छ । नागार्जुन नगरपालिकामा रहेको मनमोहन पार्कमा प्रधानमन्त्री ओलीले अनावरण र उद्घाटन गर्न लागेका हुन् । 

९ः३० मा चन्द्रागिरीस्थित मदन भण्डारी पार्कमा वृक्षरोपण अभियान २०८२ को शुभारम्भ गर्ने कार्यक्रम छ । 

त्यस्तै, दिउँसो ११ बजे संसद् बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका छन् । 

प्रधानमन्त्री ओलीको शनिबारको अर्काे महत्त्वपूर्ण कार्यक्रम मदन फाउन्डेसनको छ । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजना हुन लागेको ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा उनी प्रमुख अतिथि छन् । राष्ट्रिय सभागृहमा हुन लागेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारी विशेष अतिथि छिन् । भण्डारी एमालेको राजनीतिमा फर्कने तयारीबिच ओली र भण्डारी एकै मञ्चमा बोल्न लागेका हुन् । एमालेको सक्रिय राजनीतिमा फर्कने भण्डारीको तयारीप्रति ओली खुसी छैनन् । जसकारण शनिबारको सो कार्यक्रमलाई एमाले नेता तथा कार्यकर्ताले चासोका साथ हेरेका छन् । 

शनिबार साँझ प्रधानमन्त्री ओली दोहा हुँदै स्पेन जाने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लागेका हुन् । स्पेनको सेभिल्लामा हुने सो कार्यक्रमका लागि प्रधानमन्त्री ओली राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा जान लागेका हुन् ।