
आगामी तीन दिन पश्चिम नेपालमा भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णालीका पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो। अन्य पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
मनसुन देशभर नै सक्रिय हुने देखिन्छ। पूर्वी तराई र गण्डकीको उपल्लो क्षेत्रबाहेकमा वर्षा हुने आकलन गरिएको छ।
महाशाखाले भूक्षय, बाढीपहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन पनि भनेको छ।