१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
Invalid date format o७:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इरानबाट फर्किंदै १० नेपाली

इजरायलबाट तत्कालै आउन चाहेका ३० जनाको उद्धारमा भने अन्योल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१o:oo
  • इजरायलमा करिब सात हजार नेपाली, ७५० जना नेपाली दूतावासको सम्पर्कमा

इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेकामध्ये १० नेपालीको भारत सरकारको सहयोगमा चाँडै उद्धार गरिने भएको छ । उद्धारको यकिन मिति भने तय भइसकेको छैन । भारतले आफ्ना नागरिकसँगै नेपाली र श्रीलंकाका नागरिकको पनि उद्धार गर्न लागेको हो । इरानमा १६ नेपाली रहेको तथ्यांक छ ।

परराष्ट्र मन्त्रालयका अनुसार १० नेपालीलाई भारतीय उद्धार जहाजमार्फत स्वदेश फर्काउने तय भएको हो । ‘इरानमा जम्मा १६ नेपाली हुनुभएको जानकारी छ । उहाँहरूमध्ये १० जनालाई भारतीय उद्धार जहाजमार्फत स्वदेश फर्काइने तय भएको छ । पाँचजना जेलमा हुनुहुन्छ भने एकजनाले स्वदेश नफर्किने जानकारी दिनुभएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

इरानबाट दिल्ली पुगेपछि नेपालीलाई स्वदेश फर्काउन समन्वयका लागि भारतस्थित नेपाली राजदूत डा. शंकर शर्मालाई जिम्मेवारी दिइएको छ । भारत तयार भएपछि इरानस्थित भारतीय दूतावासले नेपालीलाई सम्पर्क गरी दूतावाससँग समन्वय गर्न भनेको छ । 

परराष्ट्र प्रवक्ता क्षेत्रीले त्यहाँ रहेका नेपाली र इरानस्थित भारतीय दूतावासका डिसिएम राखी मायुरीसँग समन्वय गरेका छन् । यससँगै भारतीय दूतावासले श्रीलंकाली नागरिकलाई पनि सम्पर्कमा आउन भनेको छ । इरानस्थित नेपालीलाई पनि उद्धार गरिदिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत सरकारसँग आग्रह गरिसकेकी छिन् ।

यस्तै, इजरायलबाट तत्कालै स्वदेश फर्किने इच्छा राखेर फारम भरेका ३० नेपालीको उद्धारमा अन्योल भएको छ । इजरायलमा ५५ सयदेखि सात हजार नेपाली छन् । ‘इजरायलमा रहेका नेपालीमध्ये हालसम्म ७५० जना सम्पर्कमा हुनुहुन्छ । उहाँहरूले बंकरमा सुरक्षित रहेको जानकारी दिनुभएको छ,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले भने, ‘३० जनाले तत्कालै स्वदेश फिर्ता हुने इच्छा व्यक्त गरेका छन् ।’ 

कूटनीतिक अधिकारीका अनुसार उनीहरूलाई उद्धारका लागि विमानस्थल जाने बाटो मात्रै होइन, अर्को देश जाने बाटो पनि सुरक्षित नभएकाले उद्धार गर्न कठिन छ । ‘अहिले उहाँहरूलाई बाहिर ल्याउनुभन्दा बंकरमै सुरक्षित छ । त्यही उत्तम विकल्प हो,’ एक कूटनीतिक अधिकारीले भने । 

परराष्ट्र मन्त्रालयमा इजरायल र इरानमा रहेका नेपालीलाई समन्वय गर्ने द्रुत कार्यटोली आइतबार घोषणा हुँदै छ । परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी श्रेष्ठको नेतृत्वमा टोली गठन हुने तयारी छ । टोलीमा गृह, श्रम र पर्यटन मन्त्रालयका अधिकारी पनि सामेल हुनेछन् ।

छुटाउनुभयो की ?