१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
घनश्याम कँडेल
२o८२ असार ७ शनिबार ११:o३:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रैथाने खाना चिनाउन भोजनलिपि स्वाद अभियान

Read Time : > 2 मिनेट
घनश्याम कँडेल
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार ११:o३:oo

नेपाली रैथाने खाना प्रवद्र्धनका लागि भोजनलिपि स्वाद अभियान सुरु गरेका हौँ । भोजनलिपि स्वाद, अर्थात् भोजन भनेको खाना, लिपि भनेको त्यसलाई लिपिबद्ध गर्ने र खाना चखाउने कार्यक्रम भोजनलिपि स्वाद हो ।

१५ असारमा हुने कार्यक्रम भोजनलिपि स्वादको चौथो संस्करण हो । पहिलो संस्करण सोह्रखुट्टेमा गर्याैँ । दोस्रो र तेस्रो हात्तीसारमा गरेका थियौँ । चौथो अनामनगरमा गर्दै छौँ । कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रियस्तरबाटै कार्यक्रम सुरु गरेका हौँ । कार्यक्रममा नेपालका विभिन्न जिल्लामा उत्पादन हुने खाद्य पदार्थ मगाउँछौँ । मौलिकतालाई गुमाउन नदिई परिकार बनाउँछौँ । जुन–जुन रेस्टुरेन्टमा कार्यक्रमा गछौँ, त्यहाँको मेनुमा पनि यस्तै परिकार राख्ने व्यवस्था गछौँ । त्यसपछि जसले पनि त्यो परिकार खान सक्ने अवस्था हुन्छ । उपल्लोस्तरबाटै काम हुन सके केही सहज होला कि भनेर काम थालेका हौँ । कार्यक्रममा स्वदेशी खानालाई फ्युजन गरेर वैज्ञानिक बनाउने, कुन खाना, कसरी खाने ? भन्ने ज्ञान पनि बाड्छौँ । धान दिवसको अवसरमा हुने यो कार्यक्रमलाई मध्यनजर गरेर पनि केही खाना बनाउँछौँ । हामीले बनाएका भोजन, लिपि र स्वादका केही ब्रान्ड छन्, त्यसलाई पनि देखाउँछौँ । 

राम्रो खाना, राम्रो स्वास्थ्य 
हामीले यो अभियान काठमाडौंबाट सुरु गरेका छौँ । अझै पाँचौँ र छैटौँ पनि यही गछौँ । केही समयपछि प्रत्येक जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने योजना छ । अहिलेको जमानमा मान्छे जीवन खोजिरहेका छन् । युवा अवस्थामै थायराइड, मिर्गौलाको समस्या, हृदयघातजस्ता समस्या देखापरिरहेका छन् । यो खानाकै प्रभावले हो । त्यसैले स्वास्थ्य ठिक भयो भने मात्र सबै काम गर्न सक्छौँ भन्ने सन्देश दिँदै अगाडि बढिरहेका छौँ ।

हाम्रा रैथाने खाना लोप हुँदै गएका छन् । खाने रैथाने खाना विदेशीले खाँदैनन् । विदेशीले एक दिन ढिँडो खायो भने अर्को दिन खान सक्दैनन् । त्यसैले त्यही ढिँडोलाई काटा र चम्चाले सुपमा चोपेर खाने बनाउन सक्यौँ भने अर्कोपटक पनि खान सक्छन् । यसका लागि ढिँडोलाई त्यहीअनुसार बनाएर प्रसार–प्रचार गर्नुपर्‍यो । हाम्रो खानाहरू धेरै अमिलो, पिरो र चिल्लो छ । यही जन्मेको, यही माटोमा हुर्केको, तर पनि चार पाँच वर्ष विदेशमा बसेर फर्कँदा यहाँको खाना पचाउन सकिँदैन । त्यसैले पर्यटन प्रवद्र्धन गर्ने हो भने हस्पिटालिटी क्षेत्रलाई पनि प्रवद्र्धन गर्नुपर्ने हुन्छ । हाम्रो काम भनेको सरकारलाई घचघचाउने मात्र हो । मैले ३० वर्ष ४०औँ रेस्टुरेन्टमा सेफको रूपमा काम गरे । मेनु बनाएँ । सयौँ सेफ तयार गरेँ । खाना पकाउने विज्ञ तयार गरे । यही ज्ञानलाई नेपालमा पनि देखाएर केही गर्न सकिन्छ कि भनेर यो अभियान सुरु गरेको हुँ ।

०७८ को जनगणनाअनुसार नेपालमा १४२ जातजाति छन् । जातजातिअनुसार नै संस्कृति र खाना छन् । माघेसंक्रान्तिमा तरुल, घिउ, चाकु, तिहारमा सेलरोटी, उभौली–उँधोलीमा किनेमा, म्ह् पूजामा सोहीअनुसारको खानेकुरा खाइन्छ । त्यसैले नेवारी खाना, किराँती खाना हुँदै पूर्वदेखि पश्चिमसम्मको खानाको मेनु पनि बनाउँछौँ । त्यहाँका मानिसलाई पनि अभियानमा जोडेर आ–आफ्नो ठाउँको खाना प्रस्तुत गर्न लगाउँछौँ । हामीले अहिलेसम्मको कार्यक्रममा ढिँडो, सिस्नोको सुप, सिस्नोको नुडल्स, च्याख्ला, गाँजर र लौकाको लड्डु, मोही, मह, घिउलाई समावेश गरेका छौँ ।

होटेल म्यानेजमेन्टका कलेजमै नेपाली खानाबारे पढाइँदैन 
प्रायजसो कलेजमा विदेशी खाना बनाउन मात्र सिकाएका छन् । होटेल म्यानेजमेन्टको अध्ययन हुने ९९.९ प्रतिशत कलेजमा विदेशी खाना बनाउन सिकाइन्छ । नेपाली खानाबारे धेरै विद्यार्थीलाई जानकारी नै छैन । शिक्षा क्षेत्रबाट सुध्रिने काम भएन भने पनि हस्पिटालिटी क्षेत्रको प्रवद्र्धन गर्न सकिँदैन । त्यसैले अहिले आफूले सिकेको ज्ञान केही कलेजमा पनि सिकाइरहेको छु । नेपालीले पे्रmन्च, जापानिज, इन्डियन, चाइनिज रेस्टुरेन्ट खोल्छन् । तर, विदेशीले नेपाली रेस्टुरेन्ट खोल्दैनन् ।

विदेशमा नेपाली खाना पाउने रेस्टुरेन्ट नेपालीले नै खोल्ने हो, त्यो पनि नेपाली ग्राहकलाई नै मध्यनजर गरेर । विदेशीले हाम्रो खाना खाए पनि पचाउन सक्दैनन् । नेपाली खाना चिल्लो, पिरो र कडा खालका हुन्छन् । विदेशमा जति सफ्ट खाना भयो, त्यति राम्रो हुन्छ । त्यसैले विदेशीलाई नेपाली खानाको बानी पार्न, प्रचार–प्रसार गर्नुपर्‍यो ।

कुनै पनि विदेशी नेपालमा आएर नेपाली खाना खाएपछि फेरिफरि खान सक्ने र खोज्ने बनाउनुपर्‍यो । त्यसका लागि हाम्रो अहिलेको खानालाई नै तेल, चिल्लो, पिरो कम गरेर सफ्ट बनाउन सकिन्छ नि । हो, त्यही हामी गर्दै छौँ । भाषणभन्दा काम नै गरौँ भनेर यो अभियान सुरु गरिएको हो । सोहीअनुसार भोजनलिपि स्वादको एक सय संस्करणसम्म गछौँ । त्यसअघि बढ्न पनि सक्छौँ । सुरुमा दुईजना मिलेर काम थालेका थियौँ । अहिले सयौँजना अभियानमा जोडिएका छन् । धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । त्यसले हामीमा ऊर्जा थपिएको छ । 

(कँडेल सेफ हुन्)