१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
शान्ति तामाङ नयाँ पत्रिका
२o८२ असार ७ शनिबार o९:२२:oo
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

यार्साले रोकेको विदेश यात्रा

Read Time : > 3 मिनेट
शान्ति तामाङ, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार o९:२२:oo

यार्साको सिजनमा पाटनभर मानिस छरिएका हुन्छन् । अपी हिमाल गाउँपालिकाका अनुसार सिजनमा करिब १० हजारले विभिन्न लेकमा यार्सा टिप्छन् । गाउँपालिकाका प्रत्येक घरबाट पाँचदेखि ६ जना यार्सा टिप्न जान्छन् ।

जेठको तेस्रो साता साँझको सात बज्नै लागेको थियो, भर्खर पानी परेकाले धौलीओडारवरपर चिसो बढेको थियो । चिसो धेरै नै भएकाले यार्सागुम्बा टिप्न जानेहरू समूह बनाएर आगो तापिरहेका थिए । केही भने बेलुकीको खाना बनाउने तयारी गर्दै थिए । शान्ति टमटा पनि खाना तयार गर्नेमध्येमै थिइन् । उनीसँगै अगेनोछेउ बसेका थिए, श्रीमान् गोविन्द र छोरा अविनाश टमटा । दुई दिनको बाटो हिँडेर धौलीओडारसम्म आउनुको उद्देश्य तीनैजनाको एउटै भए पनि शान्तिमाथि थप जिम्मेवारी छ, बिहान–बेलुका खाना बनाउने, भाँडा माझ्ने र त्रिपालले ढाकेको अस्थायी टहरो सम्हाल्ने ।  

यार्सागुम्बा

सोहीअनुरूप उनी बेलुकीका लागि खाना तयार पार्दै छिन् । अनि भोलि बिहानको खानाका लागि आजै पिठो तयार पार्दै छिन् । ‘भोलि बिहान ५ बजे नै किडो (यार्सा) खोज्न निस्कनुपर्छ । त्यसैले आजै तयारी गरेको हो । भोलि पनि आफैँले गर्नुपर्ने हो,’ शान्तिले भनिन् । पानी परे पनि तीनवटा यार्सा भेटेका अविनाश गोविन्दसँग लुटपुटिएका छन् । ‘यसले अलि धेरै पाउँछ । अहिलेसम्म यसले २० वटा पाइसकेको छ । मैले जम्मा १३ वटा मात्रै किडो पाएँ,’ यति भन्दै गोविन्द हाँसे । यार्सा खोज्न आएको १० दिनमा ५० वटा यार्सा संकलन भइसकेको छ । यो परिवार धौलीओडारमा अस्थायी टहरा बनाएर दुई वर्षदेखि यार्सा खोज्न आइरहेको छ । गतवर्ष जस्तै यो वर्ष पनि तीनैजना विद्यालय बन्द भएको भोलिपल्टै लेक चढेका हुन् । १२ र सात वर्षको दुई छोरीलाई घरको जिम्मा लगाएर उनीहरू धौलीओडार आएका हुन् । धौलीओडार, अपि बेसक्याम्पवरपर उनीहरूले यार्सा हेर्दा सौगन्नामा उनीहरूको दुई छोरीले एउटा भैँसी, दुईवटा गाई, एउटा बाच्छी र ५० वटा बाख्रा सम्हालिरहेका छन् । 

कापीकलम र नयाँ ड्रेस किन्ने अविनाशको धोको
गत वर्ष पनि अविनाश बुबाआमाको पछि लागेर यार्सा खोज्न आए । तर, उनले खासै यार्सा संकलन गर्न सकेनन् । उनका बुबा गोविन्दले पनि सयवटा जति मात्रै जम्मा गर्न सके । समयमै यार्सा नबेच्दा उनले घाटा व्यहोरे । लेक चढ्दा ल्याएको नुन, मसला, रासन, भाँडाकुँडाको पैसा तिर्न थप ज्याला मजदुरी गर्न पर्‍यो । यो सबै नजिकबाट देखेका अविनाशले यसपटक फटाफट यार्सा हात पारेका छन् । त्यसैले जति दुःखकष्ट भए पनि धेरै यार्सा खोजेर कापीकलम किन्ने र विद्यालयको नयाँ पोसाक किन्ने ध्येय राखेका छन् । ‘यहाँ आउन रमाइलो लाग्छ । पैसा कमाउन पाइन्छ । पोहोर वर्ष धेरै हेरेको पनि होइन । खासै पाइएन,’ ११ वर्षीय अविनाशले भने, ‘यार्सा बचेर कापीकलम किन्ने हो । नयाँ डिरेस पनि किन्ने हो ।’ तर, यी इच्छा पूरा गर्न अविनाशलाई सजिलो भने छैन । बिहानै ५ बजे उठेर खाना, खाजा बोकेर निस्किनुपर्ने हुन्छ । दिनभर यार्सा खोज्ने क्रममा घामपानी सबै व्यहोर्नुपर्छ । यसका बाबजुद उनी यार्सा खोज्न निस्कन्छन् । ‘दुःख त दुःखै हुन्छ । कहिलेकाहीँ पानीसम्म खान पाइँदैन । वारिबाट हेरेर पारिको पानी खानुपर्छ,’ अविनाशले भने । उनले अर्को साल पनि आउने सोच बनाइसकेका छन् । अर्को वर्ष आफू आउन नसके दिदी आउने पक्का भइसकेको उनले बताए । भवानी माध्यमिक विद्यालयमा सौगन्नामा कक्षा चारमा अध्ययनरत उनी मात्र होइन, सबैजसो साथीको नियति हो । तैपनि, उनी एक दिनमै तीनवटा यार्सा भेट्टाउँदा दंग छन् ।

यार्साले रोकेको धार्चुलाको बाटो 
१५ वर्षकै उमेरमा गोविन्दले शान्तिसँग बिहे गरे । २९ वर्षीय गोविन्द बिहेपछि उनको यात्रा कहिले भारतको बैंगलोर त कहिले धार्चुला भयो । बैंगलोरमा उनले होटलमा भाडा माँझे । खाना पकाए । तर, धार्चुलामा भने बेल्चा नै हाने । नियतिले उनलाई सौगुन्ना नै फर्कायो । यहीँ केही गर्ने बाटो देखायो । त्यसैले, उनी अहिले खच्चरमा सामान ओसारपसार गर्छन् । गाई, बाख्रा पाल्छन् । र, वर्षको एकपटक यार्सा खोज्न लेक चढ्छन् । ‘घरको अवस्थाका कारण सानैमा बिहे भयो । होटेलमा काम गरेँ । जुस, अम्लेट बेचेँ । भाँडा माझेँ । त्यहाँबाट एक वर्षमै फर्किएँ,’ उनले भने, ‘फर्केर धार्चुला गएँ । त्यहाँ पनि एक महिना बसेँ । बिरामी परेँ । लेबर काम गर्न नसकेपछि फेरि फर्किएँ ।’

यो वर्ष पनि यार्सा पाइए अलि समय बस्ने उनको सोच छ । ‘किडो पाइए पो धेरै दिन बस्ने । पाइएन भने यहाँ बसेर मात्र के गर्नु ? तेल, खुर्सानी, हल्दो सबै साहुकोबाट ल्याएको हो, खर्च धेरै लाग्छ । त्यसैले गइहाल्छौँ,’ गोविन्दले भने । गोविन्दको परिवारलाई यार्साले केही राहत भने दिएको छ । अघिल्लो वर्षदेखि धौलीओडारमा टहरा हालेर यार्सा खोज्न थालेका उनले योभन्दा पहिले अर्कै पहाडमा यार्सा खोज्थे । यार्सा बेचेर उनले एक सिजनमा ५० हजारसम्म आम्दानी गर्छन् । यो आम्दानीले परिवारको आवश्यकता पूरा गर्न सजिलो भएको छ । ‘मैले १७ वर्ष हुँदादेखि किडा टिप्न थालेको हुँ । पहिला किडा पाउँथ्यो । अहिले त खासै पाउँदैन । पहिले चार–पाँच सय पिससम्म पाउँथ्यो । घर खर्च चल्थ्यो,’ उनले भने । गत वर्ष ११ जेठमा आएर ११ असारमा फर्केका उनी यो वर्ष कहिले फर्किने हुन् टुंगो छैन । गत वर्षको जस्तै समस्या यो वर्ष नहोस् भन्नेमा सजग छन् । ‘पोहोर सुरुसुरुमा एउटा किडाको पाँच सय, पाँच सय ५५ मा बेचेका थिए । पछि घटेर चार सय पनि बिक्री भएन । त्यसपछि घर लगेँ । धेरै राख्दा किडाले किडा खाने रैछ । राम्रोसँग सफा गर्न, सुकाउन सकिएन भने भित्रभित्रै धुलो लाग्दो रहेछ । त्यसैले खासै पैसा लिन सकिएन,’ उनले भने ।

घर चलाउन सहज 
शान्तिले माइतीघरमा छँदै यार्सा टिप्न सुरु गरेकी हुन् । पाँच सन्तानमध्ये जेठी शान्तिले यार्सा बेचेर आएको पैसा बुबाआमालाई घर चलाउन दिने गर्थिन् । त्यो पैसाले उनको बुबाआमालाई परिवार चलाउन सहज भएको थियो । बिहेपछि केही वर्ष छोराछोरी जन्माउने, हुर्काउनेतिर लागेकी शान्ति गतवर्षदेखि फेरि यार्सा खोज्न थालेकी छिन् । बिहान ४ बजे नै उठेर रोटी पकाउने, खाएर बाँकी रहेको झोलामा हालेर हिँड्ने, दिनभर यार्सा खोजेर साँझ फर्किएर फेरि खाना बनाउने उनको दैनिकी बनेको छ । ‘किडा पाइयो भने भने रमाइलो हुन्छ । घर चलाउन सजिलो हुन्छ,’ उनले भनिन्, ‘पाउन सकिएन भने गाह्रै छ । दुःख पनि छ । कहाँ–कहाँ डाँडा काटेर भोकै हिँड्नुपर्छ । कहिले त पानी पनि पाइँदैन ।’ शान्ति र गोविन्द आफू जहाँ जस्तो अवस्थामा भए पनि छोराछोरीलाई शिक्षादीक्षा दिन यार्साले सहज बनाएकोमा खुसी नै छन् । ‘हामीले यस्तो बन्नु, उस्तो बन्नु भनेर हुँदैन । ठुलो भएपछि जे पनि हुन सक्छ । राम्रो शिक्षादीक्षा दिन पाए हुने हो,’ उनले भनिन् । हामीसँग गफिँदा–गफिँदै शान्तिले भोलिका लागि पिठो मुछिसकेकी थिइन् । बेलुकीका लागि दालभात तयार बनाइसकेकी थिइन् । उनीहरूले भोलि बिहान ५ बजेको तयारी गर्दै गर्दा हामी भने उनीहरूको टहराबाट हात हल्लाउँदै निस्कियौँ । शान्ति घरधन्दातिर लागिन् । गोविन्द र अविनाश भने हामीलाई पर पुगिन्जेलसम्म हेर्दै थिए ।

यार्सा टिप्ने यो समयमा पाटनभर मानिस छरिएका हुन्छन् । अपि हिमाल गाउँपालिकाका अनुसार सिजनमा करिब १० हजारले विभिन्न लेकमा यार्सा टिप्छन् । गाउँपालिकाका प्रत्येक घरबाट पाँचदेखि ६ जना यार्सा टिप्न जान्छन् । यार्सा खोज्न लोलु, रोखापुमा धेरै मानिस जान्छन् । यस्तै, धरमघर, फाप्तुक, खडिचाख, बुङा, टाउका, अन्निखाना, धानकुन्ने, थातिलाडका, नाउरखाल, झालरकोड, घट्टखोला, कटेलीगाड खोलाजस्ता पाटनमा मानिसको संख्या धेरै हुन्छ । यार्सा खोज्न दार्चुलाबाहेक केही कैलालीतिरका मानिससमेत पुग्छन् ।