
उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ अमलचौरीमा प्रेमिकाको हत्यापछि प्रेमीले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पेक्टर बबिन राईले २८ वर्षीय रवीन्द्र राईले १४ वर्षीया मञ्जु राईको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।
बुधबार बिहान मञ्जुको शव अमलचौरीको गाउँकै बाटोमा फेला परेको थियो । रवीन्द्र भने रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । ‘घटनाको प्रकृति हेर्दा हत्यापछि आत्महत्या देखिन्छ । केटीको घाँटीमा औँलाका डाम छन् । केटीको शव भएको ठाउँमा केटाको चप्पल भेटिएको छ । त्यसकारण हत्यापछि आत्महत्या भन्न सकिन्छ,’ इन्स्पेक्टर राईले भने ।
घटनापछि गाउँघरमा सोधपुछ गर्दा दुवैजना प्रेम सम्बन्धमा रहेको बुझिएको उनको भनाइ छ । ‘१४ वर्षकै उमेरमा मृत बालिका प्रेम सम्बन्धमा रहेको बुझिएको छ । तर, हत्यापछि किन आत्महत्या भन्नेबारे अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।
मञ्जुका बुबा सीताराम राईले छोरीको हत्या भएको भन्दै जाहेरी दिएका छन् । ‘दुवै शवको पोस्टमार्टम गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका छौँ । रिपोर्टपछि कारण खुल्ला । शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ । किनभने केटीको घाँटीमा चोटपटक छ,’ इन्स्पेक्टर राईले भने ।
मञ्जु माडीबास माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् । रवीन्द्र राहदानी बनाएर विदेश जाने तयारीमा रहेको खुलेको इन्स्पेक्टर राईले बताए । मञ्जुकी आमा मीना राईले छोरी र रवीन्द्रबिच प्रेम सम्बन्ध रहेको आफूले पनि सुनेको बताइन् ।