१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
२o८२ असार ५ बिहीबार o८:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गण्डकी प्रदेश सभा सदस्य मनाङे पदमुक्त, फौजदारी कसुरमा दोषी ठहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार o८:५८:oo

ज्यान मार्ने उद्योग मुद्दामा अदालतले दोषी ठहर गरेको गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेका नामले परिचित राजीव गुरुङ पदमुक्त भएका छन् । फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको भन्दै सर्वोच्च अदालतको बुधबार बसेको संवैधानिक इजलासले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडालको इजलासले बुधबारदेखि लागू हुने गरी मनाङेलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले २० कात्र्तिक ०८१ मा ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहरको फैसला सुनाएको थियो । सर्वोच्चको फैसलापछि मनाङे हाल डिल्लीबजार कारागारमा छन् ।

उच्च अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चको गत २० कात्तिकको इजलासले सदर गरेको थियो । उच्चले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो । उच्चको फैसलाविरुद्ध सर्वोच्च पुगेका मनाङेको मागदाबी नपुग्ने फैसला भएसँगै उनी दोषी ठहर भएका थिए । दोषी ठहरसँगै उनलाई पाँच वर्ष कैद सजाय तोकिएको थियो ।

गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले चक्रे मिलन (मिलन गुरुङ)को हातमा तरबार प्रहार गरेको घटनामा यो फैसला भएको हो । ठेक्कापट्टा र असुली धन्दा गर्दै आएका उनीहरूबिचमा कुरा नमिलेपछि मनाङे र चक्रे मिलन समूहबिच ०६१ मा भएको झडपमा चक्रेको हात छिनाएको थियो । पछि शिक्षण अस्पतालमा उनको हात जोडिएको थियो । त्यसपछि यो मुद्दा जिल्ला अदालत काठमाडौं पुगेको थियो । जिल्ला अदालतले सामान्य कुटपिट भएको भन्दै मनाङेलाई दुई वर्ष कैद सजाय सुनाउँदै घटनामा संलग्न भएका अन्य चारजनालाई निर्दोष साबित गरेको थियो । जिल्लाको फैसलामा चित्त नबुझेको भन्दै सो मुद्दा उच्च अदालत पाटन पुगेको थियो । उच्चले जिल्लाको फैसला उल्टाउँदै ज्यान मार्ने उद्योगअन्तर्गत मनाङेलाई पाँच वर्षको जेलसजाय सुनाएको थियो । उच्चको फैसला चित्त नबुझेको भन्दै उनले ३ फागुन ०७५ मा सर्वोच्च अदालत पुनरावेदन गरेका थिए । उनले गरेको पुुनरावेदनलाई सर्वोच्चले दाबी नपुग्ने फैसला सुनाएपछि दोषी ठहर भएका हुन् ।

सर्वोच्चले उच्चको फैसला सदरसँगै पाँच वर्षको कैदमध्ये मनाङेले गत २० कात्तिकअघि दुई वर्ष कैद भुक्तान गरिसकेका छन् । फैसलापछि अब उनले तीन वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेमा अदालतले उनको २० प्रतिशत कैद सजाय घटाउने निर्णयसँगै अब उनी एक वर्ष कारागार बस्नुपर्नेछ । विभिन्न मुद्दा खेपिरहेका मनाङे नयाँ फौजदारी संहिता ऐनको १९४ ले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल बस्नु नपर्ने र बाहिर बसेर मुद्दा लड्न पाउने भनी गरेको व्यवस्थाअनुसार ६ पुस ०७५ मा सर्वोच्चको आदेशमा कारागार मुक्त भएका थिए ।

मनाङे गण्डकी प्रदेश सभाको दुईपटक सदस्यमा निर्वाचित भइसकेका छन् । उनी ६ पटक मन्त्रीसमेत बने । गण्डकीमा धेरैपटक मन्त्री हुने सूचीको एक नम्बरमा उनी छन् । १० मंसिर ०७४ मा भएको पहिलो चरणको निर्वाचनमा मनाङ (२) बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी भएसँगै गुमनाम रहेका उनले प्रदेश सभा सदस्यको शपथ लिएका थिएनन् । ज्यानसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहरिएपछि उनी गुमनाम थिए । ०७४ वैशाखमा ज्यान मार्ने उद्योगअन्तर्गत कारागार चलान भएका उनी ६ पुस ०७५ मा सर्वोच्चको आदेशमा धरौटी तारेखमा कैदमुक्त भएका थिए ।