
ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन् । डिफ्युजन नोटिस जारी गरिएका उनलाई कम्बोडियन प्रहरीले पक्राउ गरेको हो ।
एआइजी चन्द्रकुवेर खापुङ, प्रमुख, सिआइबी
मितेरी सहकारी ठगीमा संलग्नमध्ये ज्योतिबहादुर भण्डारी पक्राउ परेर बुधबार राति नेपाल ल्याइएको छ । उनको बारेमा डिटेल बुझ्न फाइल नै अध्ययन गर्नुपर्छ ।
नेपाल प्रहरीको सहयोगमा उनलाई बुधबार मध्यराति नेपाल ल्याइएको छ । नेपाल प्रहरीअन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख एआइजी चन्द्रकुवेर खापुङले मितेरी सहकारी ठगीमा संलग्नमध्ये ज्योतिबहादुर भण्डारी पक्राउ परेको बताए । ‘मितेरी सहकारी ठगीमा संलग्नमध्ये ज्योतिबहादुर भण्डारी पक्राउ परेर नेपाल ल्याइएको छ । उनको बारे डिटेल बुझ्न फाइल नै अध्ययन गर्नुपर्छ,’ उनले भने ।
घटनाको अनुसन्धान गरिरहेको सिआइबीका अनुसार उनले मितेरीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङलाई प्रभावित गरी ०७६ मा सहकारीबाट तीन करोड रुपैयाँ लिएका थिए । त्यसपछि पनि उनले सहकारीबाट थप १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ लिएका थिए । उक्त रकम उनले ‘क्रिप्टो’मा लगानी गरेका थिए । ज्योतिबहादुरकै योजनामा ज्योतिले सबै हर्कत गरेको प्रहरीको भनाइ छ । सिआइबीले घटनामा जोडिएका ज्योतिबहादुर र ज्योतिसहित सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध गत ६ असोज ०८१ मा नै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनीहरूमध्ये कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
प्रहरीका अनुसार ठगीमा संलग्न सबै अभियुक्त नेपालमा छैनन् । कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङकी पूर्वश्रीमती ज्योतिविरुद्ध रेडकर्नर नोटिस नै जारी भएको छ । प्रहरी स्रोत उनी अहिले अमेरिकामा रहेको बताउँछ । ‘मितेरी सहकारी ठगीमा ज्योतिबहादुर र ज्योतिविरुद्ध रेडकर्नर नोटिस जारी छ । त्यसमध्ये ज्योतिबहादुर पक्राउ परेका छन् । ज्योति भने अमेरिकामा रहेको सूचना छ । अन्य अभियुक्तको पनि खोजी कार्य जारी छ,’ प्रहरी स्रोतले भन्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै ज्योतिबहादुरलाई नेपाल प्रहरीले औपचारिक रूपमा पक्राउ गर्नेछ । घटनाको अनुसन्धानका लागि सिआइबीमा बुझाउनेछ । त्यसलगत्तै मितेरी ठगीको अनुसन्धान फाइल पुनः खुल्ने सिआइबीको भनाइ छ ।
सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले मितेरी सहकारीको अनुसन्धान जारी नै रहेको र ज्योतिबहादुरको पक्राउपछि केस नयाँ ढंगले अघि बढ्ने बताए । ‘मितेरी सहकारी ठगीको अनुसन्धान जारी नै छ । समाचारमा आएअनुसार ज्योतिबहादुर पक्राउ परेका छन् । कुनै औपचारिक खबर त छैन । तर, ज्योतिबहादुर आएपछि केस नयाँ ढंगले अघि बढ्नेछ,’ उनले भने ।
कांग्रेस उपसभापति गुरुङमाथि विस्तृत अनुसन्धान नै भएन
सांसद सूर्य थापाको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङविरुद्ध पनि छानबिन गरिनुपर्ने सिफारिस गरे पनि सत्ताको आडमा उनले उन्मुक्ति पाएका छन् । मितेरीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङका पूर्वपति धनराजलाई सिआइबीले २८ कात्तिक ०८१ मा लाजिम्पाटस्थित कार्यालय उपस्थित गराएर ५ घण्टा बयान लिएर छाडेको थियो । तर, उनी न पक्राउ परे, न त मुद्दा नै दर्ता भयो । प्रहरीसँगको बयानमा उनले मितेरी सहकारीको रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । उनले बरु आफू सहकारीबाट उल्टो पीडित बनेको गुनासो प्रहरीसमक्ष बताएका छन् ।
बागमती प्रदेशस्थित सहकारी रजिस्ट्रारको कार्यालयले नै धनराजविरुद्ध अनुसन्धान गर्न सिफारिस गर्यो । तर, बयानका लागि कार्यालय उपस्थित गराएको सिआइबीले उनलाई ससम्मान बिदाइ गर्यो । सहकारीका अध्यक्ष कुम्भराज गुरुङले १४ साउन ०८१ मा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । उजुरीमा धनराजको नामै किटेर हिनामिनामा संलग्नता रहेको उल्लेख थियो । त्यसअघि कुम्भराज जाहेरी बोकेर सिआइबी पुगेका थिए ।
धनराजविरुद्ध अनुसन्धान प्रक्रिया अघि नबढ्ने भएपछि कुम्भराजसहितको टोली सरकारबाट गठित संसदीय छानबिन विशेष समितिमा पुगेर उजुरी दिएको थियो । समितिले सहकारीको कार्यालय अनुगमन गर्नुका साथै कुम्भराजको बयान लिएको थियो । उनले रकम हिनामिनामा धनराजको पनि संलग्नता रहेकोे बयान दिएका थिए । संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा धनराजमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो ।
ज्योति धनराजकी पूर्वश्रीमती हुन् । उनीहरूबिच २९ फागुन ०७६ मा सम्बन्धविच्छेद भएको थियो । ३ फागुन ०७७ मा धनराजले सहकारीबाट १२ लाख रुपैयाँ ऋण लिएका थिए । ऋणपत्रमा धनराजले हकवाला भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । अपचलन भएको रकम धनराजले पनि चुक्ता गर्नुपर्ने सहकारीका अध्यक्ष गुरुङको माग छ ।