१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025
२o८२ जेठ ३० शुक्रबार o८:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चैतेधानको समर्थन मूल्य माग्दै आन्दोलनमा किसान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार o८:o७:oo

समर्थन मूल्यको आधामा पनि चैतधान बिक्री नभएपछि गौरादहका किसानले राँके जुलुसहित गरे प्रदर्शन, नगरपालिका हाताभित्र प्रवेश नपाएपछि नाराजुलुस 

चैतेधानको समर्थन मूल्य नपाएका झापाको गौरादह नगरपालिकाका किसान बिहीबार राँके जुलुससहित सडक आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेको समर्थन मूल्यको आधामा पनि चैतेधान बिक्री नभएपछि किसानले धोबिनिया चोकबाट नगरपालिकाको कार्यालयसम्म एक किलोमिटर क्षेत्रमा जुलुस प्रदर्शन गरेका हुन् ।

किसानले उत्पादन गरेको चैतेधानले समर्थन मूल्य पाउनुपर्ने, मलबिउ, औषधि समयमा पाउनुपर्ने, खेत जोत्ने ट्र्याक्टरको दररेट न्यूनतम हुनुपर्ने, कृषिको सिँचाइ महसुल छुट हुनुपर्ने, उत्पादनमा अनुदान कार्यक्रम, भाडामा चल्ने कम्पाइन हार्भेस्टको दररेटमा एकरूपता हुनुपर्ने माग राखेका छन् ।

नगरपालिकाको कार्यालय कम्पाउन्डभित्र भवनमा रहेको गेटबाट प्रहरीले प्रवेश गर्न नदिएपछि किसानले कार्यालय परिसरमै नाराजुलुस र कोणसभा गरेका थिए । करिब डेढ घण्टासम्म नाराजुलुस र कोणसभा गरेपछि मेयर छत्रपति सुवेदीले पाँचजना प्रतिनिधि पठाएर मागबारे जानकारी गराउन भन्दै प्रहरीमार्फत खबर पठाए । तर, यसअघि नै पटक–पटक ज्ञापनपत्र बुझाएको भन्दै किसान प्रतिनिधि भित्र जान मानेनन् । त्यसपछि मेयर बाहिर आएर सम्बोधन गरे ।

‘खासमा हामी प्रतिनिधि मात्र मेयरको कार्यकक्षमा गएर के गर्न सकिन्छ भनेर छलफल गर्ने योजनामा थियौँ । तर, गेटमै हामीमाथि दुर्व्यवहार भयो । त्यसपछि हामी अपमान सहेर प्रतिनिधि मात्र भित्र जान सकेनौँ,’ गौरादह नगर मूल कृषक समूहका अध्यक्ष लय बरालले भने, ‘मेयरले जानकारी छैन भनेर झुटो बोल्नुभयो । हामीले पटक–पटक हाम्रो समस्याबारे जानकारी गराएका छौँ । पछिल्लोपटक मात्रै २६ जेठमा नगरपालिकामा ज्ञापन पत्र दिएका हौँ ।’

किसान संघर्ष समिति संयोजक इन्द्र पोखरेलले आफ्नो कपडा प्रहरीले च्यातिदिएको बताए । ‘हामी नगरपालिकालाई माग सुनाउन आएका थियौँ । तर, जनप्रतिनिधिले प्रहरी लगाएर किसानमाथि दमन गरे,’ पोखरेलले भने, ‘शान्तिपूर्ण आन्दोलनलाई सशक्त बनाउँछौँ ।’ 

मुस्किलले समर्थन मूल्यको आधा पाउँछन् किसान 
सरकारले यस वर्ष १८ प्रतिशतसम्म चिस्यान रहेको चैतेधानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ तोकेको छ । तर, किसानले प्रतिक्विन्टल १२ सयदेखि १५ सयसम्ममा बेच्नुपरेको छ । सरकारले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको हकमा भने एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने गरेको छ । गत वर्ष चैतेधानको समर्थन मूल्य दुई हजार ७०७ रुपैयाँ थियो ।

अहिले चैतेधान भित्र्याएर बर्खेधान रोप्ने वेला हो । त्यही भएर किसानलाई चटारो छ । तर, देशभरका किसानले चैतेधानको समर्थन मूल्य पाएका छैनन् । नेपालमा एक लाख १० हजार हेक्टरसम्ममा चैतेधानको खेती हुने गरेको छ । प्रतिमन एक हजार १२० रुपैयाँ पाउनुपर्ने भए पनि पाँचदेखि ६ सय प्रतिमनमै धान बेच्नुपरेको गौरादहका किसान कामेश्वर राजवंशीले बताए । ‘धानको उचित मूल्य पाएका छैनौँ । उत्पादन लागत पनि उठेको छैन । खेती गर्ने वेलामा मल हुँदैन । पारि (भारत)बाट मल ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने ।

एक बिघामा सय मन धान फलाएका झापाको गौरीगन्ज गाउँपालिका– १ महाभाराका किसान सुरेश राजवंशीले भाउ नहुँदा धान खेतीको लगानी पनि नउठेको बताए । सरकारले तोकेअनुसार प्रतिमन एक हजार १२० रुपैयाँ पाउनुपर्ने हो, तर पाँच सयदेखि ६ सय प्रतिमनमा बेच्नुपरेको झापाका किसानको दुखेसो छ । ‘बर्खेधान लगाउनका लागि पनि पैसाको जोहो गर्नुपर्‍यो,’ राजवंशीले भने, ‘भाउ अझ घट्छ भन्ने पनि हल्ला छ, घाटा लागेर पनि धमाधम बेचिरहेका छौँ ।’ गत वर्ष प्रतिमन १२ सयसम्म धान बेचेका झापाका किसान झनै मर्कामा छन् ।