
प्रधानमन्त्रीका अभिव्यक्ति र आन्दोलनप्रति सरकारको ‘दमनकारी’ नीतिका कारण राजसंस्थासमर्थकको प्रदर्शन दिनप्रतिदिन उग्र बन्दै गएको छ । सरकारले प्रदर्शन रोक्न ‘अतिरिक्त’ बल प्रयोगको नीति अपनाएपछि उनीहरूले आन्दोलनको स्वरूप परिवर्तन गर्दै दायरा विस्तार गरेका छन् ।
सरकारले धरपकड र निषेधित क्षेत्र विस्तार गरिरहँदा राजसंस्था पक्षधरले उपत्यका बन्दको घोषणा गर्दै विरोध चर्काउने र तनाव सिर्जना गर्ने रणनीति अंगीकार गरेका छन् । अर्कोतर्फ सरकारले आन्दोलनको दायरा खुम्च्याउन निषेधित क्षेत्र विस्तार गर्ने र प्रधानमन्त्रीले मुठभेड निम्त्याउने अभिव्यक्ति दिइरहेका छन् ।
आन्दोलनका क्रममा आइतबार राप्रपा नेपालका अध्यक्ष एवं पूर्वगृहमन्त्री कमल थापालाई प्रहरीले लछारपछार गर्दै पक्राउ गरेपछि राजसंस्था पक्षधरले उपत्यका बन्दको घोषणा गरेका छन् । आइतबार नै काठमाडौं प्रशासनले सिफल चौर क्षेत्र, कोटेश्वर आकासे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्यत्र प्रर्दशन गर्न नपाइने गरी सूचना जारी गरेको छ ।
पछिल्लोपटक १५ जेठदेखि राजधानीकेन्द्रित आन्दोलन सुरु गरेका राजावादीले पाँचौँ दिनका लागि आन्दोलनको स्वरूप परिवर्तन गरेका छन् । चार दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेका राजावादीले सरकारले दमन गरेको ठहर गर्दै सोमबार उपत्यका बन्दको घोषणा गरेका हुन् । आन्दोलनकारीले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा नाराबाजी गर्दै आएका छन् ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार साँझ विज्ञप्ति जारी गर्दै सरकारले आन्दोलनमा बर्बर दमन गरेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको बताए । ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ,’ सुवेदीले विज्ञप्तिमा भनेका छन् ।
समिति संयोजक सुवेदीले आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाउँदै निन्दा गरेका छन् । ‘शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बर्बर दमनको हामी घोर भत्र्सना गर्दछौँ । शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ ग¥यो, त्यसको हामी निन्दा गर्दछौँ,’ उनले भनेका छन् ।
राजावादीहरूले गत १५ जेठमा रत्नपार्कबाट आन्दोलन सुरु गरेका थिए । दोस्रो दिन माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका राजावादीले तेस्रो दिन बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । चौथो दिन नक्साल नारायण चौरमा प्रदर्शन गरे । संयुक्त जनआन्दोलन समितिको आह्वानमा ४५ वटा राजावादी दल र समूहले गरेको आन्दोलनमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजी मुख्य माग छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार नक्साल नारायणचौरमा प्रदर्शनका क्रममा प्रहरीले आइतबार दिउँसो थापासहित शीला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिनालाई पक्राउ गरेको थियो । प्रदर्शनका क्रममा थापाले प्रहरी घेरा तोड्न खोजेपछि भ्यानमा राखेर जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको थियो । थापाले नारायणचौर आन्दोलनको नेतृत्व गरेका थिए । भ्यानमा राख्दैगर्दा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए । उनको पक्राउको तस्बिर सामाजिक सञ्जालमा ‘भाइरल’ छ । यद्यपि, थापासहित गिरफ्तार सबै आइतबार साँझ नै रिहा भएका छन् ।
नारायणचौरमा प्रदर्शनस्थल तोकिए पनि आन्दोलन बालुवाटारतर्फ जाने भन्दै प्रहरीलाई सहयोग गर्न आग्रह गरेका थिए । नाराबाजी गर्दै आन्दोलन बालुवाटारतर्फ अघि बढेपछि प्रहरीले अघि नबढ्न आग्रह गर्यो । तर, प्रर्दशनकारीले नमानेपछि प्रहरीले धरपकड गर्दै लाठीचार्ज गरेको थियो ।
प्रहरीको लाठीचार्जबाट दर्जनौँ घाइते भएको राजावादी नेताहरूले बताएका छन् । टाउको, खुट्टा, हात र ढाडमा प्रहरीले लाठीचार्ज गरेको उनीहरूले बताएका छन् । केहीको प्रदर्शनस्थलमै उपचार गरिएको थियो भने केहीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो ।
थापालाई भेटन गएका राप्रपा नेता एवं सांसद दीपक सिंहलाई पनि प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं प्रहरी परिसरको हिरासतमा भेट्न गएका सांसद सिंहलाई माथिको आदेश भन्दै पक्राउ गरिएको राप्रपाका नेताहरूले बताएका थिए । राप्रपाले ‘सांसद दीपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्थाविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रस्ट धारणा रहेको’ बताएको थियो । प्रहरीले सांसद सिंहलाई आइतबार साँझ रिहा गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले गिरफ्तार नेता, कार्यकर्ताको रिहाइ नगरिए आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भत्र्सना गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
यस्तै, समितिका संयोजक सुवेदीले थापालाई हिरासतमा भेट्न जाने क्रममा राप्रपा सांसद सिंहलाई संसदीय मर्यादाविपरीत प्रहरीले हिरासतमा लिएको र यो सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाप रहेको प्रमाणित भएको बताएका छन् । उनले संविधान प्रदत्त अधिकार प्रयोग गर्ने क्रममा प्रहरीले पक्राउ गरेका थापा र सिंहसहित सबै आन्दोलनकारीलाई तत्काल रिहा गर्न पनि सुवेदीले माग गरेका थिए ।
थापालाई प्रहरीले पक्राउ गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आन्दोलनकारीलाई सम्बोधन गर्दै खास लडाइँ भोलिदेखि हुने चेतावनी दिएका छन् । लिङ्देनले थापालगायतलाई सम्मान रिहाइ गर्न अन्यथा परिस्थितिको सामना गर्न चेतावनी दिएका हुन् ।
‘गृहमन्त्रीलाई मेरो आग्रह छ– तपाईंहरूले कमल थापालाई यही ल्याइदिनुस् । उहाँलगायतका मानिसहरूलाई यहीँ ल्याइदिनुस्, होइन भने अब हामी अरू साथीभाइलाई पनि देशभरबाट बोलाउँछौँ । खास लडाइँ भोलिबाट सुरु हुन्छ,’ उनले भने, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्कन्छौँ । तपाईंहरू कहाँ रोक्नुहुन्छ ?’ लिङ्देनले परिवारलाई आन्दोलनमा उत्रिन आह्वान गर्दै दमनबाट नडराउने बताए । ‘पक्राउ परिन्छ, थुनामा परिन्छ, दुई चार लाठी खानुपर्छ भनेर अब हामी डराउनेवाला छैनौँ,’ उनले भने । प्रधानमन्त्रीले परिस्थिति भड्काउन खोजेको भन्दै उनले प्रहरी प्रशासनलाई संयमता नतोड्न आग्रहसमेत गरे । ‘प्रधानमन्त्रीले त अस्ति नै परिस्थिति भड्काउन लाग्नुभएको थियो । प्रहरी प्रशासनलाई संयमता नतोड्न म फेरि आग्रह गर्न चाहन्छु,’ उनले भने ।
विगतमा कुनै पनि परिवर्तन भोटबाट नभएको भन्दै लिङ्देनले आन्दोलनकै बलमा व्यवस्था बदलिएको स्मरण गराए । उनले जनताले व्यवस्थाको विकल्प खोजेको दाबी गरे । ‘हामी गणतन्त्र आन्दोलनबाटै फेर्न चाहन्छौँ । जनताले विकल्प खोजिराखेको छ,’ उनले भने ।
उनले बेलायतमा राजसंस्था पुनस्र्थापना भएको स्मरण गराउँदै नेपालमा पनि गणतन्त्र ढालिछाड्ने उद्घोषसमेत गरे । ‘यो गणतन्त्र ढिलोचाँडो ढल्छ, ढल्छ,’ उनले भने, ‘ बेलायतमा के भएको थियो भनेर इतिहास पढ्नुस् ।’त्यसैबिच, राप्रपा नेपालका कार्यकर्ताले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका छन् । अध्यक्ष थापासहितलाई आन्दोलनको क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा नेपालका नेता तथा कार्यकर्ताले काठमाडौंको कालोपुलमा आइतबार साँझ पुत्ला जलाएर विरोध गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन स्थानबाहेक अन्यत्र आन्दोलन गर्न नपाउन गरी सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सोमवारदेखि सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्यत्र आन्दोलन गर्न पाइने छैन । सार्वजनिक सम्पत्ति एवं समग्र शान्तिसुरक्षामा असर पर्न जाने अवस्था देखिएकाले तोकिएको तीन स्थानबाहेक अन्यत्र १९ जेठदेखि २ महिनासम्म अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको तिवारीले बताए ।
काठमाडौंको लगभग सबैतिर निषेधाज्ञा लगाएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने– सरकारले लोकतन्त्रविरोधी निरंकुश कदम चाल्योबल्खु, सिफल चौर र कोटेश्वर आकासे पुलदेखि बालकुमारी क्षेत्रसम्म मात्रै प्रदर्शन गर्न पाउने गरी काठमाडौंका अन्य सबै ठाउँमा निषेधाज्ञा लगाउने सरकारको कदमलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रविरोधी निरंकुश कदम भन्दै विरोध गरेका छन् । उनले सरकारको यो कदमविरुद्ध उभिन र स्वतन्त्र सुपरिवेक्षण गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था, लोकतान्त्रिक अगुवा, बुद्धिजीवी, आमसञ्चारमाध्यम र जनसमुदायलाई आह्वान पनि गरेका छन् ।
‘लोकतान्त्रिक सरकारको दुहाइ दिने दुईतिहाइको सरकारले इतिहासमा नै नयाँ कीर्तिमान राख्ने गरी काठमाडौं महानगर क्षेत्रलाई नै निषेधित क्षेत्र तोक्ने हास्यास्पद निर्णय गरेको छ । सरकारको यस निर्णय घोर अलोकतान्त्रिक, सर्वसत्तावादी, गैरसंवैधानिक र पराजित मानसिकताको उपज रहेको राप्रपाको ठहर छ ।
सरकारको यस निर्णयबाट शान्तिपूर्वक विनाहातहतियार भेला हुन पाउने, आफ्नो विचार राख्न पाउने र राजनीतिक दलले निर्वाध रूपमा राजनीतिक गतिविधि गर्न पाउने संविधानप्रदत्त अधिकारको गम्भीर उल्लंघन गरेको छ,’ लिङ्देनले आइतबार साँझ विज्ञप्तिमार्फत भनेका छन्, ‘सरकारको लोकतन्त्रविरोधी यस निरंकुश कदमको विरुद्धमा उभिन र स्वतन्त्र सुपरिवेक्षण गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था, लोकतान्त्रिक अगुवा, बुद्धिजीवी, आमसञ्चारमाध्यम र आमजनसमुदायलाई हार्दिक आह्वान गर्दछौँ ।’
दरबार हत्याकाण्डमा मारिएकाको सम्झनामा पारस, हिमानी र हृदयन्द्रले दीप प्रज्वलन गर्दै
राजदरबार हत्याकाण्डमा निधन भएका राजपरिवारका सदस्यको सम्झनामा सोमबार कमलादीमा दीप प्रज्वलन कार्यक्रम राखिएको छ । हिमानी ट्रस्टले नारायणहिटी दरबारभित्रको मन्दिरमा दीप प्रज्वलन राखे पनि निधेषित क्षेत्रलाई ध्यान दिँदै कमलादी गणेश मन्दिरमा सारिएको छ । अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र दिँदा बुझ्न नमानेपछि कमलादीमा कार्यक्रम राखिएको हो ।
राजावादीले काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेपछि सरकारले नारायणहिटी क्षेत्रमा निषेधाज्ञा लगाएको छ । दीप प्रज्वलन कार्यक्रममा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनवयुवराज हृदयन्द्र शाहलगायत सहभागी हुने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भने झापामा रहेकाले दीप प्रज्वलनमा सहभागी नहुने बताइएको छ ।
राजावादीको उपत्यका बन्द, सरकारले बढायो निषेधित क्षेत्रको दायरा
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको विरोधमा सोमबार राजावादीले उपत्यका बन्दको घोषणा गरेका छन् । तर, पक्राउ परेका नेता/कार्यकर्ता रिहा भएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बन्द कार्यक्रममा आफूहरूको सहभागिता नरहने बताएका छन् । त्यसैबिच सरकारले सिफल चौर, कोटेश्वर आकासे पुलदेखि दक्षिण बालकुमारी र बल्खु क्षेत्रमा मात्रै विरोधका कार्यक्रम गर्न पाइने गरी सूचना जारी गरेको छ । राप्रपा अध्यक्ष लिङ्देनले चक्रपथभित्र र चक्रपथवरपरका क्षेत्रलाई निषेधित घोषणा गर्नु लोकतन्त्रविरोधी निरंकुश कदम भएको भन्दै विरोध गरेका छन् ।
(राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार साँझ जारी गरेको विज्ञप्ति)
सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ । शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बर्बर दमनको हामी घोर भत्र्सना गर्दछौँ । शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्यो, त्यसको हामी निन्दा गर्दछौँ ।