
राजावादीहरूले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेका छन् । आन्दोलनकारीहरू प्रदेशगत रूपमा काठमाडौंका विभिन्न सात स्थानबाट जुलुससहित रत्नपार्कमा पुगेका थिए । मैतीदेवी, सिफल, नक्साल, नारायण चौर, सुन्धारा, सोह्रखुट्टे र त्रिपुरेश्वरबाट नाराजुलुससहित आन्दोलनकारी रत्नपार्क पुगेका थिए ।
आन्दोलनकारीले ‘राजा ल्याऔँ, देश बचाऔँ’, ‘जनताको अवस्था परिवर्तन गर्न व्यवस्था फेरौँ’लगायत नारा लगाएका थिए । शीर्ष नेताहरू अग्रपंक्तिमा छाता ओढेर आन्दोलनमा सहभागी भए । आन्दोलनकारीलाई छाता ओढेर सहभागी हुन आह्वान गरिए पनि सबैले छाता प्रयोग गरेका थिएनन् । मुकुटको प्रतीकका रूपमा छाता ओढेको र विरोधको प्रतीकका रूपमा कालो रङ प्रयोग गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘आजको आन्दोलन भव्य रूपले सम्पन्न भयो । आन्दोलनमा हजारौँ जनताको उपस्थिति रह्यो । विशेषगरी उपत्यकावासीको सहभागिता सकारात्मक रह्यो । यसले राजनीतिक परिवर्तनको संकेत गर्दछ र नवीन समझदारीमा आउन बाध्य पार्नेछ,’ श्रेष्ठले भने ।
पहिलो दिनको आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भएको संयुक्त जनआन्दोलन समितिले जनाएको छ । आन्दोलनमा घुसपैठको आरोपमा राजावादीहरूले तीनजनालाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् । आन्दोलन निरन्तर जारी रहने समितिले जनाएको छ । शुक्रबार १२ बजे काठमाडौंका सात स्थानमा जम्मा भएर नारा–जुलुससहित माइतीघर–बिजुलीबजार क्षेत्रमा जम्मा हुनेछन् । आन्दोलनमा ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह सहभागी छन् ।
राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजी हुनुपर्ने मुख्य माग आन्दोलनकारीको छ । समितिले आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने दाबी गरेको छ । समितिका संयोजक नवराज सुवेदीले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । संविधानप्रदत्त अधिकार प्रयोग गरेर देशमा विद्यमान निषेध अन्त्य गर्दै सबै विचार र संस्था अट्ने नवीन समझदारीको माग राजावादीहरूको छ ।