
अविरल वर्षाले सडक बगाएपछि कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । शनिबार बिहान करिब ५ :३० बजेदेखि परेको वर्षाले कोशी लोकमार्गको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थान लेउती खोलामा बाढी आएपछि करिब एक सय मिटर सडक कटान गरेपछि दुवै तर्फको सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी इन्सपेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।
सडक अवरुद्ध भएसँगै दुवैतिर सडक अवरुद्ध भएको छ । उक्त सडक अवरुद्ध भएसँगै धरान हुँदै धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमको जोड्ने सडक पूर्णरुपमा बन्द भएको छ ।त्यस्तै वर्षाका कारण कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिक रुख लड्दा त्यहाँ पनि सडक अवरुद्ध भएको छ । उक्त स्थानमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरी सडक अवरुद्ध हटाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । यता तमोर करिडोर अन्तरगत चौबिसे गाउँपालिका–४ स्थित छरुवा खोलामा आएको बढीले निर्माणाधिन सडक बगाउँदा उक्त सडकखण्ड पनि अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएसँगै ताप्लेजुङ, पाँचथरबाट धनकुटा हुँदै तराईका विभिन्न स्थानमा जाँदै गरेका सवारीसाधनहरु बाटैमा अलपत्र परेका छन्।कोशी राजमार्ग अन्तरगत साँगुरीगढी गाउँपालिका–६ फेदीमा सडक बाढीले बगाएपछि उक्त बगाएको सडकको निरीक्षणको लागि जाँदै गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । उनले भने,‘सडक बगाएको जानकारी आएको छ।साँगुरीगढी गाउँपालिकासँग समन्वय गरेर खुलाउनको लागि आवश्यक पहल पनि भइरहेको बताए।’