
प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ । ‘नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म’ नामक कृति शुक्रबार सार्वजनिक हुँदैछ ।
गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडिया समेट्ने उक्त पुस्तक विभिन्न ७ जना विज्ञहरुद्धारा करिब एक वर्षको अध्ययन, अनुसन्धानपछि तयार पारिएको काउन्सिलको मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए।
मिडियाका विभिन्न विधागत विज्ञ, विश्वविद्यालयका अध्यापकसहितलाई सहभागी गराई नेपाली मिडियाको इतिहासदेखि वर्तमानसम्म झल्कने दस्तावेज तयार भएको उनले बताए । सबै विधागत विषय समेटिएको यो प्रकाशन नेपाली मिडिया जगतमा नौलो र पहिलो नै हुने काउन्सिलले जनाएको छ ।
काउन्सिले मिडिया क्षेत्रको अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिई काम गर्दै आएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले एउटै पुस्तकमा हिजोदेखि आज र भोलिलाई समेत आधारशीला हुने मिडियाको दस्तावेज अभाव भएर यो प्रकाशन गरिएको जानकारी दिनुभयो ।
‘पहिले लिपिवद्ध भएका कृतिहरु विधागत रुपमा बेग्ला बेग्लै थिए । ती मध्ये पनि कतिपय अनुसन्धानात्मक चरित्र बोकेका थिएनन् । पछिल्ला न्यू मिडिया समावेश भएका अनुसन्धानात्मक विषयसहितको कृतिको त अभाव हुने नै भयो । यही अभाव र शून्यता हटाउने प्रयास स्वरुप यो कृति प्रकाशन भएको हो,’अध्यक्ष बस्नेतले भने।
काउन्सिलले ४ वर्षदेखि मिडियाको अंग्रेजी वर्ष पुस्तक (एअर बुक) समेत प्रकाशन थाली निरन्तरता दिइरहेको छ । तिव्र रुपमा विकास भइरहेको मिडिया क्षेत्रमा हरेक वर्षका प्रमुख घट्ना, प्रवृत्ति, नीति र कार्यक्रमहरुको अंग्रेजी भाषामा नियामक र आधिकारिक निकायबाट निकालिएको प्रकाशन यो पहिलो हो ।