
नयाँ पत्रिका राष्ट्रिय दैनिकका दोलखा जिल्ला संवाददाता श्याम खतिवडा काभ्रेपलाञ्चोक जिल्लामा सम्मानित भएका छन्। नेपाल प्रेस युनियन बागमती प्रदेशको आयोजनामा पूर्वसूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले खतिवडालगायतलाई सम्मन गरेका हुन् ।
नेपाल प्रेस युनियनका प्रतिनिधि भएर नेपाल पत्रकार महासंघ बागमती प्रदेशकाे सचिवमा निर्वाचित भएकोमा खतिवडा सम्मानित भएका हुन् । खतिवडासँगै अन्य जिल्लाका पत्रकारहरू पनि सम्मानित भएका थिए ।
शुक्रबार नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित पर्यटन प्रवर्द्धनमा पत्रकारकाे भूमिका एवं संस्थागत क्षमता अभिवृद्धि तथा समान कार्यक्रममा नयाँ पत्रिकाकर्मी खतिवडा सम्मानित भएका हुन् । तीनदिने तालिम कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री रिजालले पछिल्लो समय पत्रकारितामा आधुनिक प्रविधि एआईको चुनौती रहेको बताए ।
एआईको चुनौतीलाई चिर्न आफ्नो क्षमतालाई अभिवृद्धि गर्दै जानुपर्ने उनले बताए । सो कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नयाँ आर्थिक वर्षको बजेट भाषणले प्रेस र पत्रकार भन्ने शब्द नै नलिएको बताए ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता कहिल्यै पनि संकटमा नपर्ने बताए । आफूलाई परिमार्जन गर्दै जाँदा कहिल्यै पनि पत्रकारिता संकटमा नपर्ने बताए । बदलिँदो परिस्थितिमा आफ्नो कन्टेन्ट परिवर्तन गर्दै जानुपर्ने उनको भनाइ छ ।
उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष ईश्वरी ओझा, युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, १० जिल्लाका युनियनका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष उपस्थित रहेका थिए । वैशाख १५ गतेदेखि सुरु भएको उक्त तालिम १७ गते समापन हुनेछ । तालिममा धर्मेन्द्र झा, दीपक आचार्य, रामप्रसाद दाहाललगायतले प्रशिक्षण गरिरहेका छन् ।