१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
२o८२ जेठ १४ बुधबार o८:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोले अल नासेर छोड्ने संकेत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार o८:२५:oo

जुनमा अमेरिकामा आयोजना हुने फिफा क्लब विश्वकप खेल्न रोनाल्डो साउदी प्रो लिग छाड्ने तयारीमा

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको चाहना फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता खेल्नु हो । साउदी अरेबियाको प्रो लिगमा आबद्ध रहँदासम्म रोनाल्डोको यो चाहना पूरा हुन सक्दैन । यसैकारण, उनले अल नासेर क्लबसँगको तीन वर्षको सम्बन्ध तोड्ने संकेत गरेका छन् । गत साता बेलायती सञ्चारमाध्यमले रोनाल्डो साउदी प्रो लिगबाट बाहिरिँदै समाचार सम्प्रेषण गरेको थियो । रोनाल्डोले बेलायती मिडियाको समाचारप्रति केही प्रतिक्रिया दिएनन् । 

तर, उनले मंगलबार सोसल मिडियामा अध्याय समाप्त भएको भनी लेखेका छन् । ‘यो अध्याय समाप्त भयो, कथा अझै लेखिँदै छ, सबैलाई धन्यवाद,’ रोनाल्डोले भनेका छन् । अल नासेर र रोनाल्डोबिचको सम्झौता जुन २०२५ सम्मको हो । अर्को महिना द्विपक्षीय सम्झौता समाप्त हुँदै छ । सन् २०२२ मा म्यानचेस्टर युनाइटेडबाट उनले विश्वलाई चकित पार्दै अल नासेर क्लबसँग सम्झौता गरेका थिए । रोनाल्डोको आगमनसँगै एसियन क्लबस्तरको मार्केट ह्वात्तै बढेको थियो । 

४० वर्षीय रोनाल्डोले अल नासेरबाट १०५ खेलमा ९९ गोल गरेका छन् । यस सिजनमा उनले २४ गोल गरे पनि क्लबलाई कुनै पनि उपाधि दिलाउन सकेनन् । लिगअन्तर्गत सोमबार भएको खेलमा अल नासेरले अल फतेहविरुद्ध ३–२ को नतिजा सुम्पेको थियो । यस खेलमा रोनाल्डोले एक गोल गरेका थिए । 

अल नासेरसँगको सम्झौता नवीकरण नहुँदा अल फतेहविरुद्धको गोल नै उनको साउदी प्रो लिगमा अन्तिम हुनेछ । हारसँगै अल नासेर सन् ०२५÷२६ को एएफसी च्याम्पियन्स लिगमा समेत छनोट भएन । यस सिजनमा अल नासेर साउदी प्रो लिगमा तेस्रो स्थानमा सीमित भएको छ ।

ब्राजिलियनदेखि साउदी क्लब इच्छुक

फिफाले यस सिजनको क्लब विश्वकप फुटबल प्रतियोगितामा ३२ क्लब समावेश गरेको छ । अमेरिकामा १ देखि १० जुनसम्म क्लब विश्वकप हुँदै छ । क्लब विश्वकपमा सहभागी हुने कुनै पनि एक टोलीसँग रोनाल्डो आबद्ध हुने सम्भावना छ । यसैबिच, फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि रोनाल्डो क्लब विश्वकपमा सहभागी हुन सक्ने जनाएका छन् । ‘अहिले रोनाल्डोको क्लब विश्वकप खेल्ने चर्चा छ, सम्भवतः उनको यो सपना पूरा हुन सक्छ,’ इन्फान्टिनोले भने । मिडियाका अनुसार अहिले इन्टर मियामी र स्पोर्टिङ क्लबमा रोनाल्डो जान सक्ने सम्भावना छ । अमेरिकन क्लब मियामीमा अर्जेन्टिनी कप्तान लियोनल मेसी छन् । 

तर, रोनाल्डोले कहिले पनि अमेरिकामा फुटबल खेल्ने मनसाय बनाएनन् । मियामीका मालिक डेभिड बेकह्यामले राम्रो प्रस्ताव पाउँदा पनि उनले स्विकारेनन् । यस्तो अवस्थामा सम्भवतः उनी करिअर सुरु गरेको क्लब स्पोटिङमा जान सक्छन् । यसैगरी, मोरक्कोको क्लब बिडाडले रोनाल्डोलाई २०२५ को फिफा क्लब विश्वकपका लागि अनुबन्ध गर्न इच्छुक देखाएको छ । यसैगरी, उनी अल–हिलालमा जाने सम्भावना छ । अल हिलाल क्लब विश्वकपमा छनोट भइसकेको छ । ब्राजिलियन क्लब पाल्मेरास, फ्लामेन्गो, फ्लुमिनेन्से र बोटाफोगोले पनि रोनाल्डोप्रति चासो देखाएका छन् । केही समयअगाडि रोनाल्डोले आफ्नो करिअर अल नासेरबाट समाप्त गर्ने जनाएका थिए ।