
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले एनएसजेफको टोलीसँग साक्षात्कार गर्दै कार्यकाल सफलताको कामना गरेका छन् । गत वैशाखमा भएको २०औँ साधारणसभाले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
कार्यसमितिले प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनीत गरेर कार्यसमितिलाई पूर्णता दिएको थियो । शाक्यलाई एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि दिएको छ ।
सदस्यसचिव घिसिङले खेलकुद पत्रकार मञ्चसँग मिलेर राखेप खेलकुदसम्बन्धी ‘कन्क्लेभ’को आयोजना गर्न इच्छुक रहेको बताए । मञ्चका अध्यक्ष अधिकारीले राखेपले खेलकुद पत्रकार मञ्चको यात्रामा सधैँ सहकार्य गर्दै आएको जनाए । उनले आगामी दिनमा पनि नेपाली खेलकुदको विकासमा यी दुई संस्थाबिच सधैँ रचनात्मक र सिर्जनात्मक सहकार्य हुने विश्वास व्यक्त गरे ।