Skip This
सोना गुलाबी ढकमक्क फुलेपछि…
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १५ बिहीबार १४:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सोना गुलाबी ढकमक्क फुलेपछि…

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १४:२१:oo

मेचीनगर नगरपालिका– ७, सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलका कारण सो स्थान पर्यटकीय स्थलमा परिणत भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिण सतिघट्टा चिया बगानको चार बिघा क्षेत्रमा रहेको एक सयवटा ‘सोना गुलाबी’ रुख फुलेर राताम्य भएका छन् ।

हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका फूलले प्राकृतिक वातावरण रोमाञ्चक बनाएको कारण पर्यटकहरूको आगमन बढेको वडाध्यक्ष प्रह्लादमणि ओली बताउँछन् । 

‘पहिले–पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैन थिए,’ उनी भन्छन्, ‘यसपालि मानिसहरू यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौँ । व्यवस्थापन कसरी गर्ने भनेर हम्मेहम्मे परेको छ ।’

झापाको बुद्धशान्ति गाउँपालिका– ३ स्थित बर्नेको सडकमा फुलेका ‘गुलमोहर’ले व्यापक चर्चा पाएसँगै केही स्थानीयवासीले आफ्नो ठाउँमा पनि फूल फुलेको भनेर केही तस्बिर सामाजिक सञ्जालमा हालेपछि सतिघट्टाको ‘सोना गुलाबी’ भाइरल भएर टाढाटाढासम्मका पर्यटकलाई लोभ्याउन सफल भएको वडाध्यक्ष ओली बताउँछन् ।

जेठको पहिलो सातादेखि यस स्थानमा दिनहुँ पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको र उनीहरू फोटो र भिडियो खिचाएर रमाउने गरेका छन् । 

मानिसको चहलपहल अचानक सोचेभन्दा ज्यादा बढेपछि वडा कार्यालय र स्थानीय युवाले उक्त पर्यटकीय स्थानमा फोहोरमैला राख्ने डस्टबिन र फूलका हाँगा नभाँचिदिन सूचना बोर्डहरू राखिदिएका छन् । 

सीमावर्ती क्षेत्र भएकाले यहाँ भारतको पानीट्यांकी, नक्सलबाडी, खोरीबारी, अधिकारी र रामधुनजोतका भारतीय बासिन्दासमेत मेची नदी तरेर दिउँसो घुम्न आउने गरेका छन् । 

घुम्नका लागि खासगरी युवायुवती धेरै आउने गरे तापनि बालबच्चा लिएर आउने अभिभावकको संख्या पनि उल्लेख्य रहेको बगाननजिक घर भएका शिक्षक जिआर धितालले बताए । 

‘यहाँ एकातिर हरियाली चिया बगान छ, अर्कातिर ठुला रुखका हाँगाभरि गुलाबी रंगका फूलहरू ढकमक्क छन्,’ आदर्श माध्यमिक विद्यालयका उनी भन्छन्, ‘मनमोहक वातावरण भएकाले मानिसहरू घुमफिरका लागि आएका हुन् । यसलाई दिगो पर्यटकीय स्थलमा परिणत गर्न खानेपानी, सुरक्षा, सरसफाइ र बस्ने चौतारोहरूको प्रबन्ध स्थानीय सरकारले गरिदिनुपर्छ ।’ रासस