
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २१औँ शताब्दीमा विश्वसँग तालमेल मिलाउँदै अघि बढ्न सकेमा नेपालले अल्पविकास, गरिबी, बेरोजगारी र परनिर्भरताबाट मुक्ति पाउन सक्ने विश्वास व्यक्त गरेका छन् । अर्थशास्त्री मणिकर कार्कीद्वारा लिखित पुस्तक अर्थदृष्टिको शुक्रबार काठमाडौंमा लोकार्पण समारोहमा बोल्दै उनले नेपालले गरिबी र बेरोजगारीको दुश्चक्रबाट बाहिर निस्कने सम्भावना बढ्दै गएकोसमेत बताए ।
उनले आर्थिक, राजनीतिक र संस्थागत रूपान्तरणमा अपेक्षित सुधार गर्न नसक्दा देश पछाडि परेको प्रस्ट पारे। ‘हामी सबै समृद्धिको खोजीमा छौँ, तर वर्षौँदेखि अल्पविकास र परनिर्भरताको दुश्चक्रमा फसेका छौँ,’ भट्टराईले भने, ‘त्यसबाट बाहिर निस्कन थुप्रै प्रयास गरिए तापनि सफलता पाउन सकेका छैनौँ । यसले गम्भीर बहसको माग गर्दछ।’
पूर्वप्रधानमन्त्री भट्टराईका अनुसार एसियाली मुलुकहरूमा विकासको गति तीव्र बनिरहेको सन्दर्भमा नेपालले पनि विश्वसँग तालमेल मिलाउँदै अघि बढ्नु आजको प्रमुख आवश्यकता हो । उनले छिमेकी ठुला मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम गर्दै समृद्धिको बाटो समात्नुपर्नेमा जोड दिए।
‘यदि हामीले लोकतन्त्र त ल्यायौँ, शिक्षा र चेतनामा पनि विकास भइरहेको छ, तर हामी अझै स्थायी सुधार र प्रगतिको बाटोमा जान नसकिरहेका छौँ,’ उनले भने, ‘अबको बाटो सन्तुलित वृद्धि, समान वितरण, दिगोपन र जनसन्तुष्टिलाई जोड दिने हुनुपर्छ।’
उनले राजनीतिक दलहरूलाई आ–आफ्ना प्रतिबद्धता रहे पनि राष्ट्रिय समृद्धिका लागि साझा धारणा बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । साथै, वातावरण सन्तुलन कायम राख्नेतर्फ पनि ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए । ‘नाम जे भए पनि अबको बाटो सन्तुलित र समावेशी विकासको हो,’ डा. भट्टराईले भने ।