
सिराहाको बरियारपट्टी गाउँपालिका– ३ बरियारपट्टीस्थित नेपाल–भारत सीमाको दशगजानजिकै शुक्रबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले बलमिच्याइँ गरी दुई नेपाली र एक चिनियाँ नागरिकसहित तीनजनालाई पक्राउ गरेको स्थानीयले बताएका छन् ।
नेपाल घुम्न आएका चिनियाँ नागरिक करिब ४० वर्षीय यु सिचाओ, सुखीपुर नगरपालिका– ३ सलेमपुर स्थायी घर भई काठमाडौं धापाखेलस्थित सुमेरु अस्पतालमा सर्जनका रूपमा कार्यरत करिब ४८ वर्षीय डा. सञ्जित दास र बरियारपट्टी गाउँपालिकामा सबइन्जिनियर पदमा कार्यरत ३५ वर्षीय मुकेश दासलाई गस्ती रहेको एसएसबीको टोलीले शुक्रबार बिहान करिब ११ बजेतिर पक्राउ गरेको दशगजानजिकै घर रहेका जीवछ साहले बताए ।
‘मेरो घरनजिकै आइपुगेका डा. दास र चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टनजिक रहेको पीपलको बोटमुनि मोटरसाइकल रोकेर मुकेश पछिपछि आएका थिए,’ उनले भने, ‘सीमा क्षेत्रमा कडाइ छ, फर्किहालौँ भन्दै मुकेशले भनेपछि नेपाली भूमि हुँदै तीनैजना फर्किंदै गर्दा गस्तीमा रहेको एसएसबी टोलीले नेपाली भूमिबाट जबर्जस्ती दशगजामा पुर्याएर चेकपोस्टमुनि छहारीमा सोधपुछ गरेर छोड्छौँ भन्दै पारि पुर्याए ।’
नेपाल घुम्न आएका चिनियाँ नागरिकसहित तीनजनालाई एसएसबीले नियन्त्रणमा लिएर आफ्नो भूमिमा पुर्याएको थाहा पाएलगत्तै बरियारपट्टीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षकसहित नेपाल प्रहरीका इन्चार्ज, केही स्थानीयसमेत गएर छोडिदिन आग्रह गरेका थिए । तर, एसएसबीले भ्यान बोलाएर झलौनस्थित क्याम्पमा पुर्याएको सबइन्जिनियर दासले बताए । ‘त्यहाँ सोधपुछ गरेर राति पुनः लदनियाँ थानामा ल्याइयो,’ उनले भने, ‘करिब १६ घण्टापछि दासलाई छोडियो, हाम्रो दुई थान मोबाइल लदनिया थानामै छ ।’ करिब दुई दशकअघि चीनमा मेडिकल पढिरहेका वेला ग्रेटवाल घुम्न जाने क्रममा भेटघाटपछि साथी बनेका चिनियाँ नागरिक यु सिचाओसँग त्यसपछि विभिन्न माध्यमले नियमितजस्तो कुराकानी हुने गरेको डा. दासले बताए ।