
धेरै पहिले, एक ‘बेकर’ (पाउरोटी बनाउने मान्छे) र एक किसान एउटै गाउँमा बस्थे । दुवैबिच व्यावसायिक सम्बन्ध थियो । बेकरले किसानलाई दैनिक एक पाउन्ड पाउरोटी बेच्थे भने किसानले बेकरलाई एक पाउन्ड नौनी बेच्ने गर्थे ।
एक दिन बेकरले मनमनै सोचे— कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन ? त्यसैले उनलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो । उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी तौलिए । नभन्दै आफूले तिरिरहेको भन्दा केही कम मूल्यको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए । बेकरले किसानको ठगीविरुद्ध अदालतमा मुद्दा हाले ।
मुद्दाको सुनुवाइको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भए । न्यायाधीशले किसानलाई प्रश्न गरे— तिमीले नौनी कुन तराजु प्रयोग गरेर तालिने गरेका छौ ? किसानले जवाफ दिए— मजस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर ? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु । किसानको जवाफ सुनेर न्यायाधीशले पुनः प्रश्न गरे— त्यसोभए, तिमी आफ्नो नौनी कसरी तौलेर बेच्छौ त ?
महोदय, मैले भनिसकेँ मसँग कुनै तराजु र ढक छैन । मैले हरेक दिन यिनै बेकरबाट एक पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु । यिनले मकहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कातिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्छु । किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै भने— यस मुद्दाका वास्तविक दोषी किसान होइनन्, बेकर हुन् । उनले किसानलाई एक सय रुपैयाँ जरिवाना तिर्नुपर्छ र दुई महिनासम्म निःशुल्क एक पाउन्ड पाउरोटी दिनुपर्छ । न्यायाधीशको फैसला सुनेर किसान दंग परे भने बेकर निराश बने ।