
टर्कीको कारागारमा रहेका अब्दुल्लाह ओकालानले आफूले स्थापना गरेको ‘कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)’लाई हतियार बिसाएर विघटन गर्न दिएको निर्देशन कार्यान्वयनमा आएको छ । योसँगै दसौँ हजारको ज्यान लिने पिकेके र टर्की सरकारबिचको चार दशक लामो संघर्ष टुंगिएको छ । पिकेकेको विघटनपछि धेरैको नजर अहिले यसका सहयोगी समूहले के गर्लान् भन्नेमा छ ।
पिकेकेका सहयोगी समूहमध्ये सबैभन्दा प्रभावशाली समूह टर्किएको छिमेकी सिरियामा सक्रिय ‘सिरियन डेमोक्रेटिक फोर्सेस(एसडिएफ)’ हो । एसडिएफले उत्तरपूर्वी सिरियाको ठुलो भूभागमा नियन्त्रण र शासन गर्छ । कुर्दिस नेतृत्वको यस सशस्त्र समूहविरुद्ध समेत विगत एक दशकदेखि टर्किएले सीमापारिबाट बारम्बार बमबारी गर्ने गरेको छ । केयौँ कुर्दिस जातीय विद्रोही समूहको गठबन्धन एसडिएफको मुख्य शक्ति हो, ‘पिपुल्स प्रोटेक्सन युनिट्स (वाइपिजी)’ ।
वाइपिजीलाई पिकेकेको सिरियाली शाखा र ‘आतंकवादी’ समूह मान्छ । तथापि, संयुक्त राज्य अमेरिकाले वाइपिजीलाई समर्थन गर्दै आएको छ । विगतमा सिरियामा आइएसको प्रभाव बढेको समयमा अमेरिकाले वाइपिजीसँग मिलेर आइएससँग लडेको थियो । आइएसको सम्भावित उदयलाई रोक्न भन्दै अमेरिकी फौज अझै कुर्दबहुल सिरियाली क्षेत्रमा तैनाथ छ ।
अमेरिकी प्रयासमै बसर अल–असदको शासनको पतनपछि दमास्कसमा बनेको टर्किए समर्थित नयाँ सरकार र एसडिएफबिच वार्ता चलिरहेको छ । वार्ता मुख्यतः एसडिएफको नियन्त्रणमा रहेको उत्तरपूर्वी भागमा कस्तो प्रकारको शासन कायम हुने र यसका फौजलाई कसरी राष्ट्रिय सेनामा समायोजन गर्ने भन्नेमा केन्द्रित छ ।
हतियार बिसाउने छैन संकेत
पिकेकेको विघटनले एसडिएफको फौजलाई नयाँ सिरियाली राष्ट्रिय फौजसँगको समायोजनलाई सहज बनाउने विश्लेषक मान्छन् । ‘अबका दिनमा एसडिएफलाई दमास्कसको केन्द्र सरकारसँग वार्ता गर्न र टर्कीसँगको सम्बन्धलाई सामान्यीकरण गर्न धेरै सजिलो हुनेछ,’ इराकको उत्तरी भेगस्थित स्वायत्त कुर्दिस क्षेत्रको राजधानी एर्बिलमा रहेर कुर्दिस राजनीतिमाथि निगरानी गर्ने विश्लेषक ब्लादिमिर भ्यान विल्गेनबर्गले भने । एसडिएफले आफूमाथि टर्किएले लगाउँदै आएको पिकेकेको सिरियाली शाखा भन्ने आरोपलाई खण्डन गर्छ । तथापि, दुई समूहबिच बलियो सम्बन्ध रहेको विश्लेषकको ठम्याइ छ ।
ओकालनको आह्वानपछि टिप्पणी गर्दै एसडिएफका नेता मजलुम अब्दीले पिकेकेको निःशस्त्रीकरण स्वागतयोग्य भए पनि आफ्नो समूहले निःशस्त्रीकरण नगर्ने बताएका थिए । ‘ओकालनको निर्णय सिरियामा लागू हुनेछैन,’ अब्दीले भनेका थिए । तथापि, बलियो सहयोगी पिकेकेको विघटनले एसडिएफमाथि आफ्ना लडाकु फौज र शासन संरचना (उत्तर तथा पूर्वी सिरियास्थित स्वायत्त प्रशासन (आनेस)’लाई दमास्कसको केन्द्र सरकारको छातामुनि ल्याउन दबाब पार्न सक्छ ।
अल–असदको पतनपछिका केही समय एसडिएफ र टर्की समर्थित सिरियाली फौजबिच झडप चर्किएको थियो । आफ्ना समूहलाई सघाउन टर्कीले व्यापक बमबारी पनि गर्यो । डिसेम्बरमा अमेरिकाको मध्यस्थतामा एसडिएफ र टर्की–समर्थित सिरियाली राष्ट्रिय सेनाबिच युद्धविराम घोषणा भयो । वार्ताको परिणामस्वरूप एसडिएफले आफ्नो फौजलाई भविष्यमा सिरियाली राष्ट्रिय सेनामा समायोजन गर्न सहमित जनाएको छ । अब्दी र सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराबिच एसडिएफलाई नयाँ गठित राष्ट्रिय सेनामा कुन मोडालिटीमा समायोजन गर्ने र सिरियाको उत्तरपूर्वी भागमा कस्तो शासन व्यवस्था हुने भन्नेमा अझै सहमति बनिसकेको छैन ।
वार्ताका लागि बढ्दो दबाब
सिरियाको उत्तर–पूर्वी भागमा रहँदै आएको अमेरिकी सेना छिटै फिर्ता हुन लागेको छ । आफ्नो बलियो समर्थक फौज फर्किन लागेपछि एसडिएफमाथि केन्द्र सरकारसँग वार्ता गर्नुपर्ने दबाब परेको हो । अमेरिकी फौजको उपस्थिति र समर्थनविना, एसडि एफमाथि टर्की वा सिरियाको टर्की–समर्थित समूहबाट आक्रमण बढ्न सक्छ । तर, पिकेकेको निःशस्त्रीकरणले टर्कीमा सिरियातर्फको सिमानालाई लिएर सुरक्षाको भावना बढ्यो भने एसडिएफ र टर्कीबिचको सम्बन्धमा पनि सुधार हुने सम्भावना रहेको विश्लेषक बताउँछन् ।
‘खासमा एसडिएफप्रति टर्कीको कठोर अडान मुख्यतः सीमापारबाट आफ्नो भूमिमा सक्रिय पिकेके सबल होला भन्ने सोचबाट निर्देशित देखिन्छ । त्योबाहेक एसडिएफ कुर्द समूह भएकोमा उसलाई त्यति मतलब छ जस्तो लाग्दैन,’ ‘इन्स्टिच्युट अफ रिसर्च एन्ड स्टडी अन द अरब एन्ड इस्लामिक वल्र्ड’का वरिष्ठ अनुसन्धानकर्ता थोमस पियरेटले भने । यो कुरा टर्किए र उत्तरी इराकको स्वशासित कुर्द क्षेत्रमा शासन गर्दै आएको मसुद बर्जानी नेतृत्वको कुर्दिस डेमोक्रेटिक पार्टीसँगको सुमधुर सम्बन्धले पनि स्पष्ट गर्ने पियरेटले जोड दिए । तथापि, पिकेकेको विघटनपछि स्थिति सबै ‘सामान्य हुनेछ’ भनेर ठोकुवा गर्न नसकिने उनको बुझाइ छ ।
टर्किए र पिकेकेबिचको सम्झौताअन्तर्गत केही पिकेके लडाकु तेस्रो देशमा स्थानान्तरण अर्थात् निर्वासित गरिन सक्छन् । तिनको एक हिस्साले उत्तर–पूर्वी सिरियालाई आफ्नो गन्तव्य बनाउन सक्ने सम्भावना छ । यस्तोमा टर्किएले एसडिएफ र दमास्कससँग उसको जारी वार्तामाथि नजिकबाट नजर राख्ने पियरेट मान्छन् । विगतमा टर्किस सेनाले एसडिएफसहित सिरियाका कुर्द लडाकु समूहविरुद्ध ड्रोन तथा हवाई आक्रमण गर्ने गरेको थियो । सैन्य विकल्पको सम्भावना पूरै टरिसकेको छैन । ‘अहिलेका लागि अंकाराले वार्तालाई आफ्नो लयमा अघि बढ्न दिएकोजस्तो देखिन्छ’, सिरियामा केन्द्रित सेन्चुरी इन्टरनेसनलका फेलो एरोन लुन्डले भने ।
कुर्द समूहले के गर्ला ?
विगतमा पिकेकेका शाखा र सहयोगीहरू मध्य–पूर्वका कुर्द बहुल क्षेत्रभरि फैलिएका थिए । पिकेकेले टर्किएका साथै उत्तरी इराकमा पनि आफ्नो आधार बनाएको थियो । समूहले सिरिया र इरानका कुर्द बसोवास गर्ने ठाउँमा सक्रिय समूहलाई पनि सघाउने गथ्र्यो । प्रायः सशस्त्र कुर्द समूह आफू सक्रिय देशबाट अलग हुन वा आत्मनिर्णय अधिकार हासिल गर्न वा संघीय एकाइ दिलाउन केन्द्रित छन् । जस्तो, इरानमा सक्रिय ‘कुर्दिस्तान फ्री लाइफ पार्टी’ वा पिजेएकेले आफ्नो उद्देश्य इरानभित्र कुर्द बसोवास गर्ने क्षेत्रलाई ‘स्वायत्त कुर्दिस क्षेत्र’ घोषणा गर्नु रहेको बताउँछ ।
‘अब पिजेएकेले कुन बाटो लिनेछ भन्ने पनि स्पष्ट छैन, किनभने पिकेकेभित्र धेरै इरानी कुर्दिस लडाकु पनि छन्,’ भ्यान वाइल्डनबर्गले भने, ‘हुन सक्छ, पिजेएके आगामी दिनमा सशस्त्र समूहभन्दा पनि राजनीतिक दलको रूपमा अगाडि बढ्न सक्छ । किनकि, तिनले यसै पनि इरानी राज्यविरुद्ध खासै लड्न सकिरहेका छैनन् ।’ पिकेकेका सहयोगी समूहले ओकलनको आह्वानलाई पछ्याएर हतियार बिसाउलान् वा सिरियाको एलडिएफले जस्तै आफ्नै संघर्षलाई स्वतन्त्र रूपमा हेर्लान्, भविष्यले नै स्पष्ट गर्नेछ ।