१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
२o८२ जेठ ४ आइतबार १४:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानका थप दुई स्थानमा भेटियो रुखउन्यु 

संरक्षण अभियान चलाउदै वनस्पति अनुसन्धान केन्द्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १४:१६:oo

वैज्ञानिक हिसाबले साइथिया स्पाइनुलोसा, नेपालीमा रुखउन्यु तथा स्थानीय रूपमा रुख डउरे भनेर चिनिने दुर्लभ बिरुवा सल्यान एवं पश्चिम नेपालमा पहिलोपटक भेटिएपछि वनस्पति अनुसन्धान केन्द्र सल्यानले थप खोजी तथा संरक्षण अभियान चलाएको छ । 

जिल्लाको दार्मा गापा– ३ को धुलखर्क सामुदायिक वन र कपुरकोट गाउँपालिका– ४ को कालिका सामुदायिक वनमा फेला परेको थियो । 

यसैगरी, दार्मा गाउँपालिका– ३ का थप दुई ठाउँमा पनि अरू रुखउन्यु भेटिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डा. मित्र पाठकले बताए । लोपोन्मुख रहेको रुखउन्युको संरक्षणका लागि स्थानीय सरकार र उपभोक्ता समूहबिच छलफल अन्तर्क्रिया गरिरहेको उनको भनाइ छ । 

छलफलमा दार्मा गापा उपाध्यक्ष जुना मल्ल चन्दले रुखउन्यु संरक्षणका लागि तारबारलगायतको आवश्यक पहल गर्ने बताए । नेपालमा पाइने रुखउन्यु (साइथिया) का चार प्रजाति साइटिसमा सूचीकृत छन् । तीमध्ये उपस्थिति र फैलावटको आधारमा दुईलाई संकटापन्न, एउटालाई दुर्लभ र एउटा साइथिया स्पाइनुलोसालाई कम चासो (हराउँदै गइरहेको) को रूपमा मूल्यांकन गरिएको छ । 

फरक–फरक देशहरूले फरक–फरक सूचीकृत गरेअनुसार साइथिया स्पाइनुलोसालाई कतै दुर्लभ त कतै थ्रेटन अनि कतै लिस्ट कन्सर्न प्रजाति मानिन्छ । नेपालले भने लिस्ट कन्सर्नमा राखेको छ । देशअनुसार वासस्थान पनि थोरै फरक–फरक देखिन्छ । नेपालमा यसको उपस्थिति ७५० मिटरदेखि दुई हजार मिटर पूर्व र मध्यनेपाल भनिएको छ भने ताइवानमा तीन सय मिटरदेखि दुई हजार पाँच सय मिटरको उचाइमा घना, गाढा जंगलहरूमा पाइन्छ । थोरै संख्यामा भएकोले यसलाई जोगाउनु चुनौतीपूर्ण रहेको डा. पाठकको बुझाइ छ।

काँडेदार फर्न रुख भनेर चिनिने साइथिया स्पिनुलोसाको परम्परागत औषधि, खाना र सजावटसहित विभिन्न प्रयोगहरू छन्। यसलाई परम्परागत औषधिमा छाला, मिर्गौला र आँखाको संक्रमणको उपचारका लागि र क्यान्सर तथा मधुमेह तथा क्षयरोगहरूका लागि पनि प्रयोग गरिन्छ । 

 वनस्पति अनुसन्धान केन्द्र सल्यानले रुखउन्युलगायत सल्यान र आसपास पाइने दुर्लभ र संकटापन्न बिरुवाहरू काकरसिङी, वन चाँप, सुनाखरी, सिप्लिकान, टटेलोलगायतको संरक्षणका लागि उद्यानमा ल्याएर थप उत्पादन एवं संरक्षण, सचेतना अभियान तथा सामुदायिक वनमा पुनः रोपणको काम पनि गरिरहेको छ ।

 केन्द्रको मूलपानी वनस्पति उद्यानमा संरक्षित झन्डै ६ सय प्रजातिका बिरुवामध्ये सुनाखरीसहित ७० प्रजातिका बिरुवा दुर्लभ, संकटापन्न तथा जंगली अवस्थामा निकै कम हुँदै गइरहेका बिरुवा रहेको केन्द्रका सूचना अधिकारी दामोदर दहालले बताए ।