
रुपन्देहीमा करिब ४० जना विद्यार्थी बोकेर गुडिरहेको विद्यालयको बसमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका– ४, फर्साटिकरमा बसमा आगलागी भएको हो । फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको लु.१क १३२६ नम्बरको बसमा रम्भापुर क्षेत्रबाट विद्यार्थी लिएर आउँदै गर्दा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ ।
जिप्रकाका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार गुडिरहेको बसमा करिब ४० जना विद्यार्थी रहेका थिए। बसको आवाज फेरिएको र इन्जिनबाट धुवाँ आएको देखेलगत्तै विद्यार्थीहरूलाई चालक र सहचालकले बसको पछाडिको ढोकाबाट बाहिर निकालेका थिए। मानवीय क्षति हुन नपाएको, तर बसमा क्षति भएको डिएसपी कार्कीले बताए।
आगलागीबाट बस भने पूर्ण रूपमा क्षति भएको र बसमा लागेको आगो दमकलले निभाएको थियो।