
वामपन्थी नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री स्वर्गीय प्रदीप नेपालको पार्थिक शरीरलाई केहीबेरमै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो।
स्वर्गीय नेपालका भाइ समिरका अनुसार उनको पार्थिक शरिरलाई केहीबेरमा पशुपतीस्थित विद्युतीय शवदाहनमा अन्त्येष्टि गरिनेछ। ‘केहीबेरपछि पशुपतिमै अन्तिम श्रद्धाञ्जलीसहित उहाँको पार्थिक शरिरको अन्त्येष्टि गरिनेछ,’ समिरले नयाँ पत्रिकासँग भने।
नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो। प्रगतिशील लेखकसमेत रहेका नेता नेपालको थुप्रै पुस्तकहरुसमेत प्रकाशित छन्।
कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए।पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सकृय उनी पछिल्लो पटक एमालेमा विभाजन आएपछि अस्वस्थताका कारण सकृय थिएनन्।
नेकपा एसले पार्टी विभाजन गर्दा उनकोसमेत नाम राखेको थियो। विभाजनका कारण असन्तुष्ट उनी स्वास्थ्य अबस्थाका कारण एमाले र नेकपा एस कतै पनि सक्रिय थिएनन्। दुवै पार्टीका नेताहरुले बेलाबेला उनको निवास पुगेर स्वास्थ्य अबस्थाको जानकारी लिएर स्वास्थ्यलाभको कामना गर्ने गरेका थिए।