
सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजापट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु भइरहेको छ।
फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सले मृतकमा १६ हजार २७८ बालबालिका रहेका र तीमध्ये ९०८ शिशु तथा ३११ नवजात शिशुहरू जन्मपछि मरेको बताए।
आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्याउँदै इजरायलले मार्चको सुरुमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको उनले प्रकाश पारे। यसले हजारौँ बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा संकटलाई अझ बढाएको छ।
इजरायलले पूर्वाधारलाई लक्षित गरेको र सहयोग अस्वीकार गरेको कारण धेरै बालबालिका स्वच्छ पिउने पानी र उचित पोषणमा सीमित पहुँचका साथ दिनको एउटा मात्र अपूर्ण खानामा बाँचिरहेका पनि उनले बताए।
उनका अनुसार हजारौँ बालबालिका आधारभूत आवश्यकताविना विस्थापन केन्द्रमा बसिरहेका छन्। गर्भवतीहरूले अस्पताल पुग्न महत्त्वपूर्ण चुनौतीको सामना गर्नुपरेको छ।
हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो। दुवै पक्ष गतिरोधमा रहेका कारण दोस्रो चरण अझै साकार हुन सकेको छैन।