
उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत हिजो भएको खेलमा काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० गोलले पराजित गरेको छ ।
ललितपुरको एन्फा फुटबल ग्राउन्ड सातदोबाटोमा भएको खेलमा महानगरपालिकाका तर्फबाट राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ र मनीष सेढाईंले एक–एक गोल गरेका थिए । समूह ‘बी’मा रहेको महानगरपालिकाले यसपछिको खेल मध्यपुर थिमी नगरपालिकासँग खेल्नेछ । काठमाडौं महानगरपालिका मेयर कप फुटबल पहिलो संस्करणको विजेता हो । आज ललितपुरको कोन्ज्योसोम गाउँपालिका र काठमाडौंको तारकेश्वर नगरपालिकाबिच खेल हुँदै छ ।
महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्वराष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरूको व्यवस्थापन खेलकुदविज्ञ नवीन चित्रकारले गरेका थिए । यसअघिका प्रतियोगितामा ललितपुर महानगरपालिकाले बागमती गाउँपालिकालाई ७–३ गोलले पराजित गरेको छ । यस्तै, गोदावरी नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ६–१ ले पराजित गरेको छ । कागेश्वरी मनोहरा र दक्षिणकालीबिचको प्रतिस्पर्धामा दक्षिणकालीले ५–० गोलले कागेश्वरी मनोहरालाई पराजित गरेको छ ।
प्रतियोगितामा काठमाडौं जिल्लाबाट काठमाडौं महानगरपालिका, चन्द्रागिरि नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन्। यस्तै, ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकासहित पाँचवटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिका प्रतिस्पर्धामा छन् ।
सेमिफाइनलको पहिलो खेल समूह ‘ए’को विजेता र समूह ‘सी’का विजेता बिच हुनेछ । यस्तै, दोस्रो खेल समूह ‘बी’ र समूह ‘डी’का बिच हुनेछ । सेमिफाइनल खेल ‘१’ का विजेता र सेमिफाइनल खेल ‘२’ का विजयीबिच फाइनल खेल हुनेछ । लगातार वर्षाका कारण पूर्वनिर्धारित तालिकामा खेल सञ्चालन हुन सकेको छैन ।
प्रतियोगिताको विजेता टिमलाई नगद पाँच लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद तीन लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।