
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्मा महेशकुमार श्रेष्ठको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघका पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिले काठमाडौंमा आयोजना गरेको एकता अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
संघको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनीलकुमार शाह, मनोजकुमार श्रेष्ठ, विश्वास दीप लिम्बू (तिगेला), बुद्धिसागर सुवेदी, महिला उपाध्यक्षमा जुनु गुरुङ निर्विरोध भएका छन् । महासचिवमा बाबुराम लामा, सचिव खुलामा टंकप्रसाद गैरे, चिन्तामणि सापकोटा, तिलकप्रसाद गैरे, महिला सचिवमा देवकी खत्री गुरुङ चयन भएका छन् । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना र सहकोषाध्यक्ष खुलामा कृष्णप्रसाद पोख्रेल निर्विरोध भएका छन् भने सहकोषाध्यक्ष महिलामा उम्मेदवारी नै परेको थिएन ।
महिला संयोजकमा रश्मि थापा, युवा संयोजकमा भीमसेन थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ, मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, उत्तर–दक्षिण अमेरिका क्षेत्रीय संयोजकमा डिलुराम पराजुली, ओसेनिया क्षेत्रीय संयोजकमा इर्सद अहमद चयन भएका छन् ।
यस्तै, एसिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा रामप्रसाद खरेल र लोकेन्द्र ओली, युरोप क्षेत्रीय उपसंयोजकमा माधव पोखरेल र मीमबहादुर पुर्जा, मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा सुनीलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर–दक्षिण अमेरिका क्षेत्रीय उपसंयोजकमा विश्वराज बाँस्तोला र नरबहादुर टन्डन क्षेत्री, ओसेनिया क्षेत्रीय उपसंयोजकमा रामप्रसाद कँडेल र प्रताप राना निर्विरोध निर्वाचित भएका छन् । अफ्रिका क्षेत्रीय संयोजक र उपसंयोजकमा उम्मेदवारी नपरेको बताइएको छ ।
२१ चैत ०८० मा सर्वोच्च अदालतले शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ब्युँताउँदै ६ महिनाभित्र एकता अधिवेशन गर्न आदेश दिएको थियो । साथै, आदेशमा चैत ०७८ पछि भएका अधिवेशन खारेज गर्न भनिएको थियो । सर्वोच्चको सोही आदेशबमोजिम घलेले शनिबार र आइतबार संघको एकता अधिवेशन गरेका हुन् । तर, बद्री केसी नेतृत्वको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भने एकता महाधिवेशन बहिष्कार गरेको छ । यो समूहले आफ्नो कार्यसमिति वैधानिक रहेको भन्दै एकता महाधिवेशनलाई अस्वीकार गरेको हो ।
संघको एघारौँ महाधिवेशनमा केसीसँग पराजित भएका आरके शर्मा र महेशकुमार श्रेष्ठ घले एकता महाधिवेशनमा सहभागी भए, जसमध्ये महेश निर्विरोध अध्यक्षमा चयन भएका छन् । एनआरएनए एकता अधिवेशन शनिबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले उद्घाटन गरेकी हुन् ।