
कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका– ६ गोठगाउँमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
धरानबाट भोजपुरतर्फ जाँदै गरेको को.१ख २१७७ नम्बरको यात्रुवाहक बस आज बिहान १०ः१० बजे अनियन्त्रित भई धनकुटा नगरपालिका– ६ गोठगाउँमा दुर्घटना हुँदा धनकुटा नगरपालिका– ६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
बस दुर्घटनामा परी गम्भीर घाइते भएकी कृष्णकुमारीको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
उक्त दुर्घटनामा परी भोजपुर नगरपालिका– ११ की ६० वर्षीय देवी विक, ५८ वर्षीय लीलाबहादुर श्रेष्ठ र साँगुरीगढी गाउँपालिका– ६ का ६० वर्षीय हंशबहादुर राईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । उनीहरूको टाउकोमा चोट लागेको छ । गम्भीर घाइतेमध्ये श्रेष्ठ र राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने विकको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै, सो दुर्घटनामा परी भोजपुर षडानन्द नगरपालिका– १३ का २० वर्षीय सूर्यमणि तामाङ, षडानन्द नगरपालिका– ११ का अनमोल तामाङ, ५१ वर्षीया पूर्णमाया तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका– २ का ४८ वर्षीय कृष्ण राउत, बसचालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर पौवादुम्बा गाउँपालिका– ३ च्याँगेका ८० वर्षीय गंगाप्रसाद सापकोटा, भोजपुर नगरपालिका– ११ की २४ वर्षीया सविना बराइली, सुनसरी इटहरी उपमहानगरपालिका– ४ का १७ वर्षीय आयुष राई घाइते भएका छन् ।
यस्तै, धनकुटा नगरपालिका– ६ का ३४ वर्षीय धनकुमार विक र धनकुटा साँगुरीगढी गाउँपालिका– ६ की ६० वर्षीया दीर्घमाया राई घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरू अधिकांशको टाउको, खुट्टा, हातमा चोट लागेको छ । उनीहरूमध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ भने केहीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।