
यसपालि मनसुनमा नेपालसहित दक्षिण एसियाली देशमा सरदरभन्दा धेरै वर्षाको प्रक्षेपण गरिएको छ । भारतको पुनेमा बुधबार सम्पन्न दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ)को बैठकले यसपालिकोे दक्षिण–पश्चिम मनसुन (जुन–सेप्टेम्बर)मा दक्षिण एसियाका अधिकांश भागमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना औँल्याएको हो ।
तर, उत्तर–दक्षिण, पूर्व र सुदूरपूर्वका केही क्षेत्रमा भने औसतभन्दा कम वर्षाको प्रक्षेपण छ । यीबाहेकका क्षेत्रमा सरदर वर्षाको आकलन छ । यसपालि पनि दक्षिण एसियाका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण छ ।
यो क्षेत्रीय मौसम पूर्वानुमान दक्षिण एसियाका नौ देशका राष्ट्रिय जल तथा मौसम विज्ञान विभागले सास्कोफ ३१औँ फोरममा तयार पारेका हुन् । यसमा विश्वव्यापी मौसमी अवस्था, विभिन्न देशका राष्ट्रिय पूर्वानुमान र विश्वका विभिन्न मौसमी प्रक्षेपण गर्ने निकायको तथ्यांक समावेश गरिएको छ । हाल प्रशान्त महासागरमा एल–निनो तटस्थ अवस्थामा छ । यो तटस्थ अवस्था मनसुनी अवधिभर कायम रहने सम्भावना छ । गत वर्ष नेपालसहित धेरैजसो देशमा औसतभन्दा धेरै वर्षा भएको थियो ।
के छ नेपालको अवस्था ?
सास्कोफले नेपालमा पनि औसतभन्दा धेरै वर्षाको आकलन गरेको छ । पूर्वी नेपालमा औसत हाराहारी, मध्य नेपालमा औसत र औसतभन्दा केही धेरै तथा पश्चिम नेपालमा औसतभन्दा धेरै वर्षा हुने सास्कोफले तयार गरेको नक्सामा देखिन्छ ।
तर, पश्चिम नेपालमा गण्डकी र कर्णालीका उत्तरी क्षेत्रका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने देखिन्छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम पहाडको पूर्वी क्षेत्र, लुम्बिनीको पूर्वी बाँके–बर्दिया तथा सुदूरपश्चिमका कैलालीमा औसतभन्दा धेरै वर्षा हुने आकलन छ । मध्य नेपालमा काठमाडौं उपत्यकासहित औसतभन्दा केही धेरै वर्षा हुन सक्ने देखिन्छ ।
तर, नेपालको जल तथा मौसम विज्ञान विभागले भने मनसुनको आकलन सार्वजनिक गरिसकेको छैन । विभागका महानिर्देशक डा. कमलराज जोशीले सास्कोफबाट दक्षिण एसियाको मनसुनको प्रक्षेपण भइसकेको र अब चाँडै नेपालले पनि सार्वजनिक गर्ने बताए । यद्यपि, नेपालले सास्कोफमा नेपालको मनसुनको आकलन प्रस्तुत गरिसकेको छ ।
जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन भनिन्छ । यो अवधिमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटानसहित दक्षिण एसियाका अधिकांश हिस्सामा वार्षिक वर्षाको ७० देखि ८० प्रतिशतसम्म हुने गर्छ । प्रशान्त महासागरमा देखिने ‘अल–निनो’ र ‘ला–निनो’ गतिविधिले दक्षिण एसियाली देशमा मनसुनलाई असर गर्छ । अल–निनो प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा तटस्थ अवस्थामा छ, मनसुनमा भूमध्यरेखीय प्रशान्त महासागरमा कायम रहने आकलन छ ।