
धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नमस्ते झरनामा एक होटेलमा तोडफोड गरेको आरोपमा एकजनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। साँगुरीगढी गाउँपालिका–६, नमस्ते झरनामा सुजन राईले सञ्चालन गर्दै आएको होटेलमा गए राति तोडफोड गरेको आरोपमा सोही स्थानका ३५ वर्षीय अभिषेक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए।
आरोपित श्रेष्ठले राईको होटेलको सिसा र ढोका तोडफोड गरी फुटाइदिएको प्रहरीले बताएको छ।तोडफोडमा संलग्न श्रेष्ठलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट आज बिहान खटिएको प्रहरी टोलीले घटनास्थलबाट पक्राउ गरी धनकुटा ल्याइएको छ।
उनलाई आजै आपराधिक उपद्रव कसुरमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा आरोपितले राईको होटेलमा विभिन्न समयमा उधारो मादक पदार्थ सेवन गरेको र पैसा मागेको रिसइबी देखाई उनले होटेलमा तोडफोड गरेको खुल्न आएको प्रहरीले बताएको छ।