
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर पुगेका छन् । पुर्वी नेपालको झापादेखि सुरु भएको माओवादी केन्द्रको अभियान पश्चिम नेपाल कञ्चनपुर पुगेको हो ।
हुलाकी राजमार्ग केन्द्रित माओवादीले जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको थियो । मंगलबार कञ्चनपुर पुगेका प्रचण्डलाई पुनर्वास नगरपालिकाले सम्मान गरेको थियो । बुधबार मर्निङवाक गरेर पुनर्वास, बेलौरीका सहिद परिवारसँग भेटघाट एवं सम्मान गरिएको छ ।
जनयुद्धमा ज्यान गुमाएका स्व. पुष्कर शर्माकोे घरमा प्रचण्ड बसेका हुन । शर्मासँगै उनका कान्छा छोरा हेमराज शर्माले ज्यान गुमाएका थिए । जनयुद्धमा श्रीमान र छोरा गुमाएकी खिमा शर्माले अध्यक्ष प्रचण्ड आफ्नो घरमा बास बसेपछि खुसी व्यक्त गर्दै सहिदले देखाएको सपना अनुरुप देश र जनताको हितमा काम गर्न आग्रह गरिन् ।
प्रचण्डले बेलौरी नगरपालिका ५ स्थित रामगर खानेपानीको उद्घाटन, शोभातालको अवलोकन गरेका छन । पार्टी अध्यक्ष प्रचण्डलाई बेलौरी नगरपालिकाले स्वागत एवं सम्मान गरेको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले पुर्व प्रधानमन्त्रीलाई सम्मानका साथै समग्र बेलौरीका समसामयिक समस्या बारे ज्ञापन पत्र बुझाएको बताए ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पार्टीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरुलाई दिएको जिम्मेबारी अनुरुप खटिएको बताए । ‘अहिले अभियान टोली पुनर्वास, बेलौरी सकेर बेलडाँडी पुगेको छ, ‘उनले भने, ‘केही बेरमा बेदकोट हुँदै भीमदत्त नगरपुगेर सभा गरेर समापन गरिनेछ ।’
अभियानले पार्टी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई पाएको जिम्मेवारी युद्धस्तरमा निर्वाह गरिरहेका छन । हुलाकी राजमार्ग केन्द्रीत अभियान सकेरपछि मध्य पहाडी मार्गमा समेत संचालन गरिनेछ ।