
एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर भएको सातवर्षे अवधिको ‘एनएमबि पावर बन्ड– १’ जारी गर्न ११ वैशाखमा बोर्डमा निवेदन दिएको हो ।
बैंकले प्रतिकित्ता एक हजारका दरले पाँच अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
बोर्डको पछिल्लो सूचीअनुसार अहिले प्राइम बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल एसबिआई बैंक, नबिल बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र नेपाल इन्फ्रास्ट्रक्चर ऋणपत्र निष्कासन अनुमतिको पर्खाइमा छन् । त्यसैगरी, सिद्धार्थ बैंक र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स पनि ऋणपत्र निष्कासनको पाइपलाइनमा छन् ।