
एनआइसी एसिया क्यापिटलले पैंचो पसल प्रालिलाई आइपिओ निष्कासन गर्न सहयोग गर्ने भएको छ । क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत पैँचो पसललाई प्रालिबाट पब्लिक कम्पनीमा परिणत गराई आइपिओ निष्कासनमा सहयोग गर्ने भएको छ । यसका लागि धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ । यो सेवाका लागि दुवै पक्षबिच सहमतिपत्रमा हस्ताक्षर पनि भएको बताइएको छ ।
क्यापिटलले स्थापनाकालदेखि नै विभिन्न संस्थालाई पब्लिक कम्पनीमा परिणत गरी आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । साथै, क्यापिटलले संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै, पैंचो पसल कृषि व्यवसायमा केन्द्रित कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रमा उत्पादन भएको तरकारीलाई गुणस्तर कायम गरी उपभोक्तामाझ पुर्याउँदै आएको छ । कम्पनीले केचप, अचार तथा जामजस्ता खाद्य परिकार उत्पादन तथा प्याकेजिङ गरी बिक्री–वितरण गर्दै आइरहेको छ ।
साथै, यस कम्पनीले बिउबिजन उत्पादनदेखि उत्पादित वस्तु बजारसम्म पुर्याई ग्रामीण भेगमा बसोवास गर्ने समुदायको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान दिँदै आएको छ । आगामी दिनमा सर्वसाधारणमा सेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रूपमा विस्तार गर्ने लक्ष्य कम्पनीको छ ।